काठमाडौं । मन मिल्ने दुई पुराना साथी भेटेपछि बन्ने अवसर मीठै हुन्छ ।
युरोपेली च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आरबी लाइपजिगको सामना गर्दा यस्तै अवसर बन्यो ।
खेल अगाडि लियोनल मेस्सीले आफ्नो पुराना साथी खेलाडी रोनाल्डिन्होलाई भेट्ने अवसर पाए र यो वास्तवमै मीठो पुर्नमिलन थियो ।
मेस्सी त ब्राजिली रोनाल्डिन्होलाई आफ्नो दाजु जस्तै मान्छन् पनि । त्यसैले खेल सुरु हुन अगाडि दुई अंगालोमा पनि बेरिए र यो निकै भावनात्मक रह्यो ।
रोनाल्डिन्होले बार्सिलोना जान अगाडि पीएसजीबाट खेलेका थिए । मेस्सी भने बार्सिलोना छाडेर पीएसजी आएका हुन् । बार्सिलानामा दुवैले साढे तीन वर्षसँगै खेलेका थिए ।

बार्सिलोनामा रहेका बेला मैदान बाहिर पनि उनीहरूको दोस्ती खुबै जमेको थियो । मैदान भित्र र बाहिर दुवैले बार्सिलोनाका लागि दुवै खेलाडीले सम्झनालायक प्रदर्शन पनि गरेका छन् र यसक्रममा केही ठूला उपाधि पनि जिते ।
रोनाल्डिन्होलाई भने पीएसजीले आफ्नो विशिष्ट पाहुनाका रूपमा यो खेलका लागि बोलाएको थियो ।
रोनाल्डिन्होले पीएसजीकै लागि खेलेर विश्व फुटबलमा नाम कमाएका थिए । मेस्सीले भने यसै सिजन मात्र बार्सिलाना छाडेका थिए, त्यसैले पनि उनका लागि क्याटलान क्लबका लागि खेलिसकेका खेलाडीलाई भेट्नु विशेष रह्यो ।
मेस्सी अझै पनि बार्सिलोना भनेपछि भावुक हुने गरेका छन् । एक आपसमा भेट्दा मेस्सी र रोनाल्डिन्हो दुवैको अनुहारमा विशेष देखिने मुस्कान पनि थियो ।
–मार्काको सहयोगमा ।