काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलमा डच क्लब आयाक्सले फराकिलो जित निकालेको छ ।
समूह चरण अन्तर्गत मंगलबार राति आयाक्सले जर्मन क्लब बोरुसिया डर्टमण्डलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा खेलको ११ औं मिनेटमा मार्को रिउसको आत्मघाती गोलबाट आयाक्सले सुरुआती अग्रता बनाएको थियो ।
खेलको २५ औं मिनेटमा डेली ब्लाइन्डले गोल गर्दै आयाक्सलाई २-० को अग्रता दिलाए ।
५७ औं मिनेटमा एन्टोनीले गोल गरेपछि आयाक्स ३-० ले अघि रह्यो ।

त्यसपछि खेलको ७२ औं मिनेटमा सेबास्टियन हालेरले गोल गर्दै आयाक्सलाई ४-० को जित दिलाए ।
यससँगै आयाक्सले समूह चरणमा लगातार तेस्रो जित निकाल्न सफल भएको छ ।
समूह सी को शीर्ष स्थानको आयाक्सले ३ खेलमा ९ अंक जोडेको छ ।
डर्टमण्ड ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।