काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब लिभरपुलले स्पेनको एट्लेटिको मड्रिडलाई पराजित गरेको छ ।
समूह चरण अन्तर्गत मंगलबार राति लिभरपुलले एट्लेटिकोलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
मोहमद सलाह चम्किएपछि लिभरपुलले उसैको मैदानमा एट्लेटिकोलाई पराजित गरेको हो ।
१० खेलाडीमा समेटिएको एट्लेटिकोविरुद्ध आठौं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।
खेलको १३ औं मिनेटमा नेबी केईटाले गोल गर्दै लिभरपुलको अग्रता २-० को बनाए ।

खेलको २० औं मिनेटमा एन्टोनियो ग्रीजम्यानले गोल गर्दै एट्लेटिकोलाई २-१ को स्थितिमा ल्याए ।
३४ औं मिनेटमा ग्रीजम्यानले व्यक्तिगत दोस्रो गोल गर्दै एट्लेटिकोलाई २-२ को बराबरीमा फर्काए ।
खेलको ५२ औं मिनेटमा ग्रीजम्यानले रातो कार्ड पाएपछि घरेलु टिम १० खेलाडीमा समेटिएको थियो ।
त्यसपछि खेलको ७८ औं मिनेटमा सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई ३-२ को जित दिलाए ।

यससँगै लिभरपुलले लगातार तेस्रो जित निकालेको छ ।
समूह 'बी' को शीर्ष स्थानको लिभरपुलले ३ खेलमा ९ अंक जोडेको छ ।
एट्लेटिको ३ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।