काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ ।
मंगलबार राति भएको खेलमा सिटीले बेल्जियन क्लब क्लब ब्रुजलाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।
सिटीलाई जित दिलाउन रियाद महरेजले दुई गोल गरे । यस्तै जोआ कान्सेलो, केली वाल्कर र कोले पाल्मरले एक एक गोल गरे ।
ब्रुजका हान्स भानाकेनले एक गोल फर्काए ।

ब्रुजको मैदानमा ३० औं मिनेटमा कान्सेलोले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।
४३ औं मिनेटमा महरेजले पेनाल्टीमा गोल गर्दै सिटीलाई २-० को अग्रता दिलाए ।
खेलको ५३ औं मिनेटमा वाल्करले गोल गर्दा सिटीको अग्रता ३-० को बन्यो ।
६७ औं मिनेटमा पाल्मरले गोल गर्दै सिटीलाई ४-० को अग्रता दिलाए ।

खेलको ८१ औं मिनेटमा हान्सले गोल गर्दै ब्रुजलाई ४-१ को स्थितिमा ल्याए ।
तर, खेलको ८४ औं मिनेटमा महरेजले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ५-१ को जित दिलाए ।
यस जितसँगै समूह ए को सिटीले ३ खेलमा ६ अंक जोडेको छ ।
सिटी समूहको शीर्ष स्थानमा उक्लिएको छ ।
ब्रुज ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
