काठमाडौं । बलियो टिम ओमानविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले लज्जास्पद हार व्यहोरेको छ ।
कतारको दोहामा आइतबार राति भएको मैत्रीपूर्ण खेलमा नेपाल ओमानसँग ७-२ गोल अन्तरले पराजित भएको हो ।
ओमानलाई जित दिलाउन अब्दुल्लाजिज अल मुक्बालीले दुई गोल गरे ।
यस्तै फामी सेद, मोसेन जाहर, इसाम अल सुभी, मोहसेन अल घासनी र जमिल एल यह्मादीले एक एक गोल गरे ।
नेपालका लागि आयुस घलान र अनन्त तामाङले एक एक गोल फर्काए ।
कतार युनिभर्सिटीको मैदानमा पहिलो हाफमा २-१ को अग्रता बनाएको ओमानले दोस्रो हाफमा एकतर्फी गोल गरेको थियो ।
साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले फिफा वरीयतामा ९० स्थानको ओमानसँग मैत्रीपूर्ण खेल खेलेको हो ।

साफको तयारीका लागि नेपाली टिम कतारमा रहेका छन् । नेपाली टिम कतारबाटै साफका लागि माल्दिभ्स जाने छन्।
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले आइतबार साफ खेल्ने २३ सदस्यीय टिमको घोषणा गरेका थिए ।
साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ ।
नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ।
नेपाल र माल्दिभ्सबीचको खेल अक्टोबर १ (असोज १५) मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ।
नेपालले दोस्रो खेलमा श्रीलंकासँग अक्टोबर ४ (असोज १८) गते खेल्नेछ।
नेपालले तेस्रो खेलमा भारतसँग अक्टोबर १० (असोज २४) र लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग अक्टोबर १३ (असोज २७) मा खेल्नेछ।
पाँच राष्ट्र सहभागी प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि अक्टोबर १६ (असोज ३०) मा प्रतिस्पर्धा गर्ने छन्।
नेपालले अहिलेसम्म साफको फाइनल खेलेको छैन ।
तस्बिर- ओमान फुटबल