मुस्ताफिजुरको १५० औं विकेट पूरा

काठमाडौं। एसिया कपको सुपर फोमा बुधबार भारत र बंगलादेश आमनेसामने भइरहेका छन्।
दुबईमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले १५.४ ओभरमा ५ विकेट गुमाउँदै १३४ रन बनाएको छ। क्रिजमा हार्दिक पाण्ड्यालाई अक्षर पटेलले साथ दिइरहेका छन्।
भारतका ओपनर अभिषेक शर्मासहित शुभमन गिलले आक्रामक सुरुआत गरे। पावरप्लेमा नै ७२ रन जोडे। तर, त्यसपछि रिशाद होसेन आक्रमणमा आएर लगातार दुई ओभरमा गिल र शिवम दुबे निकाल्दै भारतको लय तोडे।
गिलले १९ बलमा २ चौका र १ छक्कासहित २९ रन बनाएर सातौं ओभरको दोस्रो बलमा क्याच आउट भए। नवौं ओभरमा दुबेले पनि तौहीद हृदयको हातमा क्याच दिँदै ९ बलमा ५ रनमा आउट भए।
अर्कोतर्फ अभिषेकले आक्रामक ब्याटिङ जारी राखे तर १२औं ओभरमा सूर्यकुमार यादवसँगको गलत बुझाइका कारण रनआउट भए। उनले ३७ बलमा ५ चौका र ४ छक्कासहित ७५ रन जोडे।
त्यही ओभरको अन्तिम बलमा मोस्ताफिजुर रहमानले सूर्यकुमार यादवलाई ११ बलमा ५ रनमै क्याच आउट गराउँदै अन्तर्राष्ट्रिय टी–२० मा आफ्नो डेढ सय विकेट पूरा गरे। यससँगै बंगलादेश पनि खेलमा फर्कियो।
१४.३ ओभरमा तन्जिम हसन शाकिबले तिलक वर्मालाई ७ बलमा ५ रनमै आउट गर्दै भारतलाई पाँचौं झट्का दिए। मोस्ताफिजले डेढ सय विकेट पूरा गर्दै अब टी–२० अन्तर्राष्ट्रियमा बंगलादेशका सबैभन्दा बढी विकेट लिने बलर बनेका छन्।
उनले शाकिब अल हसनलाई समेत पछाडि पारेका छन्।