विश्व पारा एथलेटिक्समा प्रभा र हिमालले खेल्ने
काठमाडौं। विश्व पारा एथलेटिक्स च्याम्पियनसिपमा नेपालबाट २ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्।
सेप्टेम्बर २५ देखि अक्टोबर ५ तारिखसम्म भारतको नयाँ दिल्लीमा हुने प्रतियोगितामा समान १–१ पुरुष/महिला खेलाडीले नेपालको चुनौती पेश गर्ने छन्।
पुरुषमा हिमाल अर्यालले एफ–५५ क्याटगोरीको सटपुटमा प्रतिस्पर्धा गर्ने छन्। महिलमा प्रभा आङदेम्बेले टी– ४७ क्याटगोरीको लङ जम्पमा खेल्ने छिन्।
दुवै खेलाडी विपरटाइटबाट सोझै विश्व च्याम्पियनसिपका लागि छनोट भएका हुन्। प्रभाले सन् २०२५ मै नयाँ दिल्लीमा भएको विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा एतिहासिक रजत पदक जितेकी थिइन्।
अफिसियलमा पारा एथलेटिक्स संघ नेपालका अध्यक्ष ओमनाथ सिवोकाटी तथा व्यवस्थापकमा सचिव साङबु भोटे रहेका छन्। टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार एक कार्यक्रमबीच सातदोबाटोमा बिदाइ गरे। अध्यक्ष सिवाकोटी बाहेक टोली बिहीबार भारत प्रस्थान गर्ने छ। अध्यक्ष सिवाकोटी केही दिनपछि जाने कार्यक्रम रहेको बताइएको छ।














