काठमाडौं । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले क्षमता अनुसार नेपालले प्रर्दशन गर्न नसकेको बताएका छन् ।
बंगलादेशसँग पहिलो मैत्रीपूर्ण खेलपछि प्रशिक्षक फिलिप्सले खेलाडीको प्रर्दशनबाट आफु सन्तुष्ट भएपनि क्षमता अनुसारको खेल्न नसकेको बताए ।
नेपालले बिहिबार बंगलादेशसँगको पहिलो मैत्रीपूर्ण खेलमा २–१ को जित निकालेको छ । तर नेपालको प्रर्दशन उत्कृष्ट रहेन । दोस्रो हाफ नेपालले निकै दबाब झेल्न पर्यो ।
बंगलादेशले नेपालविरुद्ध आक्रमक फुटबल खेल्दै गोलका प्रशस्त अवसर सिर्जना गरेको थियो ।
प्रशिक्षक फिलिप्सले दोस्रो गोल जसरी आफुहरुले खेल्न सक्ने भएपनि लामो समयपछि मैदान उत्रदा क्षमता अनुसारको प्रर्दशन दिन नसकिएको बताए ।
उनले भिजेको मैदानलाई समेत कारण देखाए । अविरल वर्षाका कारण दशरथ रंगशाला भिजेको थियो । सोही कारण दुवै टिमले स्वभाविक खेल प्रर्दशन गर्न सकेका थिएनन् ।
‘मैदान भिजेको थियो । गाह्रो थियो । कृतिम मैदानमा मात्र हामीले तयारी गरेका थियौं ।’ फिलिप्सले भने, ‘प्राकृतिक मैदानमा मात्र तीन सेसन अभ्यास गर्न सक्यौं । त्यसले गर्दा खेल्न निकै गाह्रो भयो ।’
उनले अन्तिम समयमा खेलाडीहरु थाकेपनि म्याच फिटनेसका लागि खेलाडीलाई परिवर्तन नगरिएको बताए ।
डेब्यु खेलमा सबिता राना र प्रिती राईले गोल गरेपछि नेपालले बंगलादेशविरुद्ध २–१ को जित निकालेको थियो । राष्ट्रिय महिला टिमले दशरथ रंगशालामा पहिलो पटक खेलेको हो ।
बंगलादेशका प्रशिक्षक गोलाम छोटन आफ्ना खेलाडीको प्रर्दशनबाट सन्तुष्ट देखिए । उनले लामो समयपछि मैदान उत्रिएको बताउँदै दोस्रो हाफमा सुधारिएको प्रर्दशन गरेको उल्लेख गरे ।
‘लामो समयपछि फुटबल खेलेका हौं । खेलाडीले राम्रो खेले । पहिलो हाफमा दुई गल्ती गर्यौ । गोल खायौं । यहाँबाट पक्कै सुधार गरेर जानेछौं ।’ उनले भने ।
प्रशिक्षक छोटनले मात्र ६ हप्ताको प्रशिक्षणबाट टिम मैदान उत्रिएको बताउँदै दोस्रो हाफमा सुधारिएको प्रर्दशन गर्ने अपेक्षा गरे ।
‘हरेक दिन खेलमा सुधार हुने अपेक्षा छ । गल्तीबाट सिक्नेछौं । बल बलियो र राम्रो भएर दोस्रो खेलमा फर्कनेछौं ।’ उनले थपे ।