आर्सनलका पूर्वखेलाडी बिल्लीको निधन

काठमाडौं। आर्सनलका पूर्वखेलाडी बिल्ली विगरको २१ वर्षको उमेरमै निधन भएको छ।
गत शनिबार विङ्गेट एन्ड फिन्चलीविरुद्धको इस्थ्मियन लिग खेलका क्रममा टाउकोमा गम्भीर चोट लागेपछि उपचाररत अवस्थामा उनले ज्यान गुमाएका हुन्। उनले खेल्दै आएका क्लब चिचेस्टर सिटीले शुक्रबार बिहान उनको निधन भएको पुष्टि गरेको छ।
चिचेस्टर सिटीले विज्ञप्तिमा भनेको छ,‘शनिबार गम्भीर मस्तिष्क चोट लागेपछि बिल्ली कोमामा पुगेका थिए। मंगलबार शल्यक्रिया भए पनि सुधार नगरेपछि अन्ततः उनको निधन भयो’
विगरले २०१७ मा आर्सनल एकेडेमीमा प्रवेश गरेका थिए। २०२२ मा व्यावसायिक सम्झौता गरेका थिए। उनले डर्बी काउन्टी यु–२१, इस्टबोर्न बरो र हेस्टिङ्स युनाइटेडका लागि समेत खेलेका थिए।
चालु सिजनअघि उनले चिचेस्टरमा आबद्ध भएका थिए। क्लबले लुइसविरुद्धको आफ्नो आगामी खेल स्थगित गर्ने निर्णय गरेको छ। आर्सनलले आफ्ना पूर्वखेलाडीलाई सम्झँदै भनेको छ,‘हाम्रो पूर्वएकेडेमी खेलाडी तथा हाल चिचेस्टर सिटीका फरवार्ड बिल्ली विगरको असामयिक निधनले हामी निकै दुखी छौं। १४ वर्षको उमेरमा होभ रिभरभेल एफसीबाट उनलाई ल्याइएको थियो। बिल्लीलाई उनका सहकर्मी र प्रशिक्षकहरूले सदैव सम्झनेछन्। विगर परिवारप्रति हाम्रो गहिरो समवेदना।’
आर्सनलबाट खेल्दा उनले पहिलो सिजनमै १७ गोल गरेका थिए। उनको गति, शक्ति र दृढताले सधैं उनलाई अलग बनाएको थियो।