लियोनी करिब एक वर्षसम्म मैदान बाहिर रहने
-1758887270603.webp&w=3840&q=75)
काठमाडौं। लिभरपुलका युवा डिफेन्डर जियोभानी लियोनी करिब एक वर्षसम्म मैदान बाहिर रहने भएका छन्। प्रशिक्षक आर्ने स्लोटका अनुसार १८ वर्षीय इटालियन डिफेन्डरले बाँया खुट्टाको एसीएल च्यातिएपछि लामो समय मैदान बाहिर रहने भएका हुन्।
पार्माबाट यसै सिजन सुरुआतमा लिभरपुल आएका लियोनीले मंगबार साउथह्याम्पटनविरुद्ध लिग कपको जितमा डेब्यु गरेका थिए। तर, खेलको ८१औं मिनेटमा ट्याकल गर्ने क्रममा असजिलोसँग लड्दा गम्भीर चोट लागेपछि उनी मैदानबाट बाहिरिनुपर्यो।
स्लोट भन्छन्,‘उनको एसीएल च्यातिएको छ। उनी करिब एक वर्षसम्म उनी बाहिर रहनेछन्। यति कम उमेरमा नयाँ देशमा आएर, पहिलो खेलमै राम्रो प्रदर्शन गर्दा यस्तो चोट लाग्नु निकै पीडादायी हो। सकारात्मक पक्ष खोज्नै गाह्रो छ, तर उनी अझै निकै जवान छन् र यो दुःखद चोटपछि पनि धेरै वर्ष खेल्ने अवसर बाँकी छ।’
यस चोटपछि जनवरीसम्म लिभरपुलसँग तीन अनुभवी सेन्टर–ब्याक मात्र रहनेछन्। ती भर्जिल भान डाइक, इब्राहिमा कोनाते र जो गोमेज हुन्।
स्लोटका अनुसार लियोनी बाहिरिएको कारण च्याम्पियन्स लिग स्क्वाडमा उनको स्थान लिन विङ्गर फेडेरिको क्यीसालाई समावेश गर्ने विषयमा क्लबले विचार गरिरहेको छ।