काठमाडौं । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडमा अनुबन्धित भएका छन् ।
युनाईटेडले मंगलबार फरवार्ड रोनाल्डोलाई युभेन्ट्सबाट अनुबन्ध गरिएको जनाएको छ ।
३६ वर्षीय रोनाल्डोले क्लबसँग दुई वर्षको सम्झौता गरेको युनाईटेडले जनाएको छ ।
यस्तै रोनाल्डोलाई सम्झौता थप गर्ने विकल्प दिईएको समेत युनाईटेडले जनाएको छ ।
'म्यानचेस्टर युनाईटेड एक क्लब हो जसले मेरो हृदयमा विशेष स्थान पाउछ । ओल्ड ट्राफोर्डमा खेल्नको लागि म प्रतिक्षा गर्न सक्दिन,' सम्झौतापछि उनले भनेका छन्, 'म अन्तराष्ट्रिय खेलपछि टिमसँग जोडिनेछु । मलाई आशा छ हाम्रो सिजन सफल हुनेछ ।'
रोनाल्डो १२ वर्षपछि युनाईटेड फर्किएका हुन् ।

यस अघि रोनाल्डोले सन् २००३ देखि ९ सम्म युनाईटेडबाट खेलेका थिए । उनले युनाईटेडबाट २ सय ९२ खेलमा १ सय १८ गोल गरेका थिए ।
त्यस समय उनले युनाईटेडबाट तीन प्रिमियर लिग, एक च्याम्पियन्स लिग, दुई लिग कप र एक एफए कप जितेका थिए ।
पाँच पटकको बालोन डी' ओर विजेता रोनाल्डो इंग्लिस क्लब छाडेर स्पेनिस क्लब रियल मड्रिड गएका थिए ।
रोनाल्डो २००९ मा स्पेनिस क्लब आएका थिए । रियलमा ९ सिजन बिताएर रोनाल्डो २०१८ मा युभेन्ट्स आएका थिए ।