काठमाडौं । आरसी-३२ फुटबल एकेडेमीले सहिद स्मारक 'सी' डिभिजन लिग छनोट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार बनेपा बोइज क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै आरसी-३२ ले लगातार दोस्रो जित निकालेको हो ।
आरसी-३२ को जितमा बबिन बोहराले निर्णायक गोल गरे । उनले ८५ औं मिनेटमा गोल गरेका थिए ।

यस जितसँगै समूह सी को आरसी-३२ दोस्रो चरणमा पुगेको छ । आरसी-३२ समूह चरणमा २ खेलमा दुई जितसहित ६ अंक जोड्यो ।
पहिलो खेलमा आरसी-३२ ले भारसिटी फुटबल क्लबलाई ८-० गोल अन्तरले पराजित गरेको थियो ।
छनोट अन्तर्गत नै अर्को खेलमा लिखु भुजी रामेछापले मेहल कुना फुटबल क्लबलाई १-० ले हराएको छ ।
लिखुको जितमा मिलन श्रेष्ठले निर्णायक गोल गरे ।

छनोट प्रतियोगितामा ७८ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।
'सी' छनोटबाट तीन टिम 'सी' डिभिजनमा बढुवा हुनेछन् ।