काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले फराकिलो जित निकालेको छ।
शनिबार राति भएको खेलमा बायर्नले हेर्था बर्लीनलाई ५-० गोल अन्तरले पराजित गरेको हो।
बायर्नको फराकिलो जितमा रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गोल गरे।
यस्तै थोमस मुलर र जमल मुसिआलाले एक एक गोल गरे।

घरेलु मैदानमा खेलको छैटौं मिनेटमा मुलरले गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए।
३५ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नको अग्रता २-० को बनाए।
खेलको ४९ औं मिनेटमा जमलले गोल गर्दा बायर्नको अग्रता ३-० को बन्यो।
खेलको ७० औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई ४-० को अग्रता दिलाए।
त्यसपछि खेलको ८४ औं मिनेटमा लेवान्डोस्कीले ह्याट्रिक गोल पूरा गर्दा बायर्न ५-० गोल अन्तरले विजयी भयो।
ह्याट्रिकसँगै लेवान्डोस्कीले बायर्नका लागि ३ सय १ औं गोल समेत पूरा गरे।

फराकिलो जितसँगै बायर्नले ३ खेलमा ७ अंक जोडेको छ। लिगको दोस्रो जित निकालेको बायर्न दोस्रो स्थानमा समेत उक्लिएको छ।
लगातार तेस्रो हार व्यहोरेको बर्लीन अंक विहीन रहदै पुछारमा रहेको छ।