काठमाडौं । सबथोक ठीकठाक रहे, लियोनल मेस्सीले आइतबार फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) का लागि डेब्यु गर्न सक्नेछन्, रेइम्सविरुद्ध हुने खेलमा ।
तर अहिले तत्काल सबैको ध्यानमा मेस्सीमा भन्दा अर्कै खेलाडीमा छ र ती हुन्, केयलिन एमबापे । उनको भविष्यलाई लिएर अझै थरी थरीका अनुमान चलिरहेका छन् ।
पेरिस आएयता यता मेस्सीले भने पीएसजीका सुरुआती दुवै खेलमा खेलेनन् । कोपा अमेरिकाको सफलतापछि प्रशिक्षणमा ढिला आएको हुनाले उनले अझै आफ्नो फिटनेसमै बढी ध्यान दिइरहेका छन् ।
प्रशिक्षक मउरिसो पोचेटिनाले भनेका छन्, ‘सबै अनुकुल स्थिति रहे, यसपल्ट मेस्सीले खेल्ने छन् ।’
यस्तै स्थिति अर्का ठूला स्टार नेयमारको पनि छ । उनले पनि कोपा अमेरिकापछि केही लामै बिदा पाए ।
यस्तोमा सम्भव छ, कोपा अमेरिकाको अर्जेन्टिना र ब्राजिलबीचको खेलमा मेसी र नेयमारले एकअर्काविरुद्ध त खेले, तर अब पीएसजीका लागि उनीहरूले सँगसँगै खेल्न सक्नेछन् ।
यस्तोमा तय के पनि छ भने रेइम्सको २१ हजार दर्शक क्षमताको स्टाडे अगस्टे डेलुने यो खेलका लागि भरिभराउ हुनेछ ।
–एएफपीको सहयोगमा ।