काठमाडौं । युवा फरवार्ड केलियन एमबाप्पे अनुबन्धको लागि रियल मड्रिडले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग दोस्रो पटक प्रस्ताव राखेको छ ।
रियलले फ्रेन्च फरवार्ड अनुबन्धका लागि १ सय ७० मिलियन युरोको दोस्रो प्रस्ताव गरेको स्काई स्पोर्ट्सले जनाएको छ । यस्तै १० मिलियन बोनसको ग्यारेन्टी समेत गरिएको बताईएको छ ।
यस अघि रियलले १ सय ६० मिलियन युरोको आधिकारिक प्रस्ताव गरेको थियो । तर, रियलको पहिलो प्रस्ताव पीएसजीले अस्विकार गरेको थियो ।
स्पेनिस जाइन्ट रियल एमबाप्पे अनुबन्धको लागि निकै प्रयास गरिरहेको छ । पीएसजी भने तत्काल एमबाप्पे नबेच्ने योजनामा रहेको बताईएको छ ।
पीएसजीसँग एमबाप्पेको सम्झौता अर्को वर्षसम्म रहेको छ । उनले सम्झौता थप गरेका छैनन् ।
पीएसजीले हालै लियोनल मेस्सी अनुबन्ध गरेको छ । र, एमबाप्पेलाई समेत क्लबमै राख्न चाहन्छ ।
२२ वर्षीय फरवार्डले पीएसजीका लागि यस सिजन ३ खेलमा १ गोल गरिसकेका छन् ।
एमबाप्पे २०१७ मा मोनाकोबाट पीएसजी आएका थिए । एक सिजन लोनमा खेलेका एमबाप्पे २०१८ मा स्थायी खेलाडीको रुपमा अनुबन्धित भएका थिए ।
पीएसजीका लागि उनले १ सय ७४ खेलमा १ सय ३३ गोल गरेका छन् ।
विश्वकप विजेता एमबाप्पेले पीएसजीका लागि ३ लिग वन उपाधि जितेका छन् ।