काठमाडौं । पछिल्लो २४ घण्टा खुबै नाटकीय रह्यो, बार्सिलोनाका लागि ।
निकै उतारचढावबीच पुष्टि भयो, क्लबको इतिहासकै सर्वाधिक उत्कृष्ट खेलाडी लियोनल मेस्सीले अब टिमका खेल्ने छैनन् ।
उनले बार्सिलोना छाड्ने के निश्चित भयो, क्लबका पुराना र नयाँ साथी खेलाडी चुपचाप रहेनन्, आफ्नो भावना पोख्न सामाजिक सञ्जालमा देखापरिहाले ।
बार्सिलोनाका खेलाडीमध्ये सबैभन्दा पहिले प्रतिक्रिया दिनेमा रहे, सर्जिओ बुस्क्वेट ।
उनले भनेका छन्, ‘मेसी क्लबमा आउँदा भर्खरका बच्चा नै थिए, अहिले छाड्दा इतिहासकै उत्कृष्ट खेलाडी भएका छन् ।’
अन्सु फाटीले पोस्ट गरेका छन्, ‘सबै खेलाडी लियोनल मेस्सीसँगै खेल्न पाउने छ भनेर बार्सिलोनामा आउने गर्छन् । म निकै भाग्यमानी रहें, किनभने मैले मेस्सीसँग साँच्चै खेल्न पाएँ ।’
फिलिपे कोउन्टिन्हाले लेखेका छन्, ‘सबथोकका लागि धन्यवाद । मेस्सीलाई भेट्नु र उनकै टिमबाट खेल्न पाउनु पनि ठूलो हो । म यसका लागि आफूलाई धन्य सम्झन्छुं ।’
जाभी हर्नान्डेजले भनेका छन्, ‘तिमीलाई धन्यवाद नदिएर कहाँ सुख पाइन्छ, अबका दिन तिमीले जे जस्तो गर्छौ, त्यसका लागि शुभकामना ।’
जेरार्ड पिकेले पनि भनेका छन्, ‘अब केही पनि उस्तै हुने छैन् । नु क्याम्प, बार्सिलोना सहर, क्लब र हामी सबै कोही पनि उस्तै रहने छैनौं । तर मलाई विश्वास छ, तिमी एक दिन फेरि फर्कने छौं ।’
–मार्काको सहयोगमा ।