एजेन्सी । जापानमा जारी टोकियो ओलम्पिक अन्तर्गतको पुरुष फुटबलको स्वर्ण ब्राजिलको यू-२३ टिमले जितेको छ ।
शनिबार भएको फाइनलमा स्पेनलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै ब्राजिलले स्वर्ण पदक जितेको छ ।
ब्राजिललाई जित दिलाउन माथुएस कुन्हा र माल्कोमले एक एक गोल गरे । स्पेनका मिकेल ओयार्जाबलले एक गोल फर्काए ।
निसान स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलको ३८ औं मिनेटमा ब्राजिलका रिचार्लीसनले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहारले पोस्टको दिशा लिन सकेन ।

पहिलो हाफको इन्जुरी समयमा माथुएसले गोल गर्दै ब्राजिललाई १-० को अग्रता दिलाए ।
तर, खेलको ६१ औं मिनेटमा ओयार्जाबलले गोल गर्दै स्पेनलाई १-१ गोलको बराबरीमा फर्काए ।
त्यसपछि निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।
अतिरिक्त समयमा ब्राजिलका माल्कोम नायक बने । उनले खेलको १०८ औं मिनेटमा गोल गर्दै ब्राजिललाई २-१ को जितसहित स्वर्ण पदक दिलाए ।

ब्राजिलले लगातार दोस्रो पटक ओलम्पिक फुटबलमा स्वर्ण जितेको हो । यस अघि ब्राजिलले घरेलु भूमिमा २०१६ मा भएको रियो ओलम्पिकमा समेत स्वर्ण जितेको थियो ।
त्यसअघि ब्राजिलले २००८ को बेईजिङ ओलम्पिकमा स्वर्ण जित्दा २०१२ को लण्डन ओलम्पिकमा रजत पदक जितेको थियो ।
