एजेन्सी । कम्युनिटी शिल्ड फुटबलको फाइनल खेल आज (शनिबार) राति हुँदैछ।
वेम्बली स्टेडियममा हुने फाइनलमा म्यानचेस्टर सिटी र लेष्टर सिटी प्रतिस्पर्धा गर्ने छन्।
दुई टिमबीचको फाइनल खेल नेपाली समय अनुसार राति १० बने सुरु हुनेछ।
सिटी र लेष्टर दुबै टिम उपाधि जित्ने योजनामा रहेका छन् । त्यसैले दुई टिमबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ ।
प्रिमियर लिग विजेता र एफए कप विजेताले कम्युनिटी शिल्डको फाइनलमा खेल्ने गर्छन् ।
सिटीले प्रिमियर लिगको उपाधि जित्दै कम्युनिटी शिल्डको फाइनल खेल्न लागेको हो। लेष्टर पहिलो पटक एफए कपको उपाधि जितेर फाइनल खेल्न लागेको हो।
सिटीले ६ पटक कम्युनिटी शिल्डको उपाधि जितेको छ। लेष्टरले समेत एक पटक उपाधि जितेको छ।
सिटीका मिडफिल्डर केभिन डे ब्रुएना र फिल फोडेनले लेष्टरविरुद्धको खेल गुमाउने छन्। तर, मिडफिल्डर ज्याक ग्रेलिसले डेब्यु गर्ने सम्भावना रहेको छ।
लेष्टरका सेन्टर ब्याक वेस्ले फोफानाले सिटीविरुद्धको खेल गुमाउने छन्।