काठमाडौं । ललितपुरको 'ए' डिभिजन क्लब थ्री स्टारले तीन खेलाडीसँगको सम्झौता नवीकरण गरेका छन्।
थ्री स्टारले शनिबार डिफेन्डर अनन्त तामाङ,मिडफिल्डर सन्जोक राई र निशान खड्कासँगको सम्झौता नवीकरण गरिएको जनाएको छ । थ्री स्टारले सम्झौता नवीकरणको अवधीबारे भने कुनै जानकारी गराएको छैन ।
सहिद स्मारक 'ए' डिभिजन लिग र राष्ट्रिय लिग नजिकिदै गर्दा थ्री स्टारले राष्ट्रिय टिमका अनन्त र सन्जोकसँगै निशानसँगको सम्झौता नवीकरण गरेको हो । 'ए' डिभिजन लिग कात्तिक २९ बाट सुरु हुनेछ ।
अनन्तले थ्री स्टारबाट पछिल्लो सिजनको 'ए' डिभिजन लिग खेलेका थिए । उनलाई नयाँ सिजनका लागि मनाङ सहितका ठुला क्लबले प्रयास गरेका थिए । तर अनन्तले थ्री स्टारमै बस्ने निधो गरेका हुन् ।

चोटका कारण उनले बैशाखमा भएको फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल) भने खेलेनन् । राष्ट्रिय टिमका भरपर्दा डिफेन्डर अनन्तलाई अधिकांश क्लबले अनुबन्ध गर्न चाहेका थिए ।
सन्जोकले समेत पछिल्लो सिजनको लिग थ्री स्टारबाट खेलेका थिए । सन्जोक प्रेरित नेपालले गत चैतमा सम्पन्न थ्री नेसन्स कप फुटबलको उपाधि जितेको थियो ।
उनले फ्रेन्चाईज फुटबल एनएसएलमा काठमाडौं रेजर्सबाट खेलेका थिए । एनएसएलको च्याम्पियन बनेको काठमाडौंका लागि उनको प्रर्दशन उत्कृष्ट थियो ।
निशानले थ्री स्टारबाटै पछिल्लो सिजनको लिग खेलेका थिए । एनएसएलमा भने उनी धनगढी एफसीमा आबद्ध भए ।