काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)र राष्ट्रिय फुटबल लिग खेल्ने क्लबबीचको बैठक निष्कर्षविहीन सकिएको छ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार बसेको १० क्लब र एन्फाबीचको बैठक निष्कर्षविहीन सकिएको हो ।
एन्फाले राष्ट्रिय लिगको मिति तय गर्न र अन्य मोडालिटीबारे छलफल गर्ने बैठक बोलाएको थियो ।
एन्फाले असोज ३ गतेबाट सहिद स्मारक 'ए' डिभिजन लिग सुरु हुने बताईसकेको छ ।
राष्ट्रिय लिगका लागि कात्तिक ३० गतेको प्रस्तावित मिति एन्फाले छलफलमा राखेको छ ।
एन्फाले राष्ट्रिय लिग ‘होम एण्ड अवे’का आधारमा सञ्चालन गर्ने तयारी समेत गरेको छ ।
छलफलमा लिग कमिटिका संयोजक सन्जिब मिश्रले राष्ट्रिय लिग र 'ए' डिभिजन लिग संगै संगै लैजान पर्ने धारणा राखेका थिए ।
तर, शीर्ष डिभिजनका ६ क्लबले राष्ट्रिय लिग सकेर मात्र सहिद स्मारक 'ए' लिग गर्न आग्रह गरेका थिए ।
यस्तै एन्फा प्रेसिडेन्ट लिगबाट छनोट भएका चार क्लबले राष्ट्रिय लिग १ महिना भन्दा लामो नगर्न आग्रह गरेका थिए ।
शुक्रबारको बैठकले ठोस निष्कर्ष निकाल्न नसकेपछि अर्को बैठक आइतबारका लागि डाकिएको छ ।

यस पटक 'ए' डिभिजनका शीर्ष ६ क्लब मछिन्द्र एफसी, मनाङ मर्स्याङ्दी क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, जावलाखेल युथ क्लब र थ्री स्टार राष्ट्रिय लिग खेल्दैछन् ।
यस्तै एन्फा प्रेसिडेन्ट लिगबाट छनोट भएका सुदुरपश्चिम कैलालीको स्टार सिटी युथ क्लब, लुम्बिनी प्रदेश बाँकेको धम्बोजी क्लब, प्रदेश २ रौतहटको मनकामना युथ क्लब र गण्डकी प्रदेश लम्जुङको त्रिवेणी युथ क्लबले राष्ट्रिय लिग खेल्ने छन् ।