एजेन्सी । एबरडिनले क्लबको इतिहासमा अद्धितीय योगदान दिएवापत सर एलेक्स फर्गुसनको मूर्ति बनाउने भएको छ ।
फर्गुसनले सन् १९७८ देखि १९८६ बीच एबरडिनमा प्रमुख प्रशिक्षकको भूमिका निभाएका थिए र त्यति बेला क्लबले स्कटल्यान्डको घरेलु फुटबलमा तीन लिग, चार स्कटिसकप र एक स्कटिस लिगकप जितेको थियो ।
उनको सबैभन्दा ठूलो उपलब्धी भने सन् १९८२–१९८३ को सिजनमा एबरडिनले रियल मड्रिडलाई हराएर यूईएफएकप जित्नु रहेको छ । गोथेनबर्गमा भएको त्यस खेलमा एबरडिन २–१ ले विजयी रहेको थियो । त्यसको दुई वर्षपछि क्लबले दुई लेगमा भएको खेलमा ह्याम्पबर्गलाई हराएर सुपरकप पनि जितेको थियो ।
‘म निकै खुसी छुं र रोमाञ्चकता महसुस गरिरहेको छुं । मैले आफ्नो खेल जीवनका केही अविश्वसमरणीय क्षण एबरडिनमा बिताएको छुं,’ फर्गुसनले भनेका छन् । सन् १९८६ मा म्यानचेस्टर युनाइटेडसँग आवद्ध हुनका लागि उनले एबरडिन छाडेका थिए । कांस्यको मूर्ति कलाकार एन्डी एडवार्डले बनाउने छन् ।
त्यसका लागि सन् १९८० मा इस्टर रोडमा प्राप्त जितमा खिचिएको फर्गुसनको तस्बिरलाई आधार मानिनेछ । फर्गुसनले त्यस अवसरलाई मूर्तिका लागि छानिएकोमा खुसी पनि व्यक्त गरेका छन् र मूर्तिलाई हेर्न आफू आतुर रहेको प्रतिक्रिया पनि दिएका छन् । मूर्ति तयार भएपछि त्यसलाई रिचर्ड डोनाल्डो स्टायन्डको बाहिर राखिनेछ ।