काठमाडौं । विश्व फुटबलको ‘ट्रान्सफर विन्डो’ अहिले ‘डेडलाइन डे’ तर्फ अग्रसर छ । अझै पनि मुख्य मुद्धा ज्युँको त्युँछ ।
के अबको सिजन लियोनल मेस्सीले बार्सिलोनाका लागि खेल्ने छन् त ? यद्यपि सबैलाई थाहा छ, अर्जेन्टिनी खेलाडी र क्याटलान क्लबबीच नयाँ अनुबन्धलाई लगभग सहमती भइसकेको छ ।
खालि समस्या हो, मेस्सीको तलबलाई लिएर । बार्सिलोनालाई मेस्सीको तलबलाई लिएर घोषणा गर्न कानुनी अडचन रहेको छ । नियमले के भन्छ भने स्पेनमा कुनै पनि फुटबल क्लबले खेलाडीलाई दिने तलब उसको आम्दानीको ७० प्रतिशत हुनु पर्छ । तर बार्सिलोनाले आफ्नो आम्दानीको १ सय १० प्रतिशत तलबमा खर्च गर्छ ।
अर्थात बार्सिलोनाले आम्दानी भन्दा पनि बढी खेलाडीको तलबमा खर्च गरिरहेको छ । यी सबै अड्चनबीच मेस्सीले बार्सिलोना छोड्छ भने त्यो क्लबका लागि मात्र होइन, स्पेनी ला लिगाका पनि खराब सावित हुनेछ । लिगको प्रतिष्ठामै आँच आउने छ । एक प्रकारले भनौं अहिले तत्काल मेस्सी विनाको बार्सिलोनाबारे कल्पना गर्न सकिन्न ।
न त मेस्सी विनाको स्पेनी ला लिगा नै । त्यसैले त गेटाफेका अध्यक्ष एन्जेल टोरेसले ठीकै भनेका छन्, ‘ला लिगाले मेस्सीलाई छोड्नै हुन्न । मेस्सी आएनन भने त्यो लिगकै दोष हुने र यसमा पश्चताप रहनेछ ।’ वास्तवमै डर के छ भने मेस्सी विनाको ला लिगा कम रोमाञ्चक र आकर्षक रहनेछ । विशेषत: विदेशी समर्थकका लागि ला लिगा बेस्वादिलो हुनेछ ।
त्यसैले सबै के निचोडमा पुगेका छन् भने, मेस्सी बार्सिलोनामा रहनु सबैलाई हितकर नै छ । हुन सक्छ, ला लिगाले मेस्सी स्पेनमै रहोस भनेर तलबको नियममा केही खुकुलो ल्याउन सक्छ ।
यसै विषयलाई लिएर बार्सिलोनाका अध्यक्ष जोन लोपोर्टो र ला लिगा अध्यक्ष ज्याभिएर टेबासबीच केही चरणमा कुराकानी पनि भइसकेको छ ।
–द मार्काको सहयोगमा