एजेन्सी । स्पेनको यू-२३ टिम टोकियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको खेलमा अर्जेन्टिनासँग १-१ गोलको बराबरी खेल्दै स्पेन समूह 'सी' को समूह विजेता बन्दै अन्तिम आठमा पुगेको हो ।
स्पेनको लागि मिकेल मेरिनोले एक गोल गरे । अर्जेन्टिनाका लागि टोमस बेल्मोन्टेले बराबरी गोल फर्काए ।
यस बराबरीसँगै स्पेनले ३ खेलमा ५ अंक जोड्यो । ४ अंक जोडेको अर्जेन्टिना भने बाहिरिएको छ ।
यस समूहबाट इजिप्ट समूह उपविजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बुधबार इजिप्टले अष्ट्रेलियालाई २-० ले हराएको थियो । इजिप्टले ३ खेलमा ४ अंक जोड्यो ।

समूह 'ए' बाट जापान र मेक्सिकोले अन्तिम आठमा स्थान बनाएको छ ।
जापानले ३ खेलमा ९ अंक जोड्यो । मेक्सिकोले ६ अंक जोड्यो ।
बुधबार जापानले फ्रान्सलाई ४-१ ले हराएको थियो । मेक्सिकोले दक्षिण अफ्रीकालाई ३-० ले पराजित गर्यो ।
यस समूहबाट फ्रान्स र दक्षिण अफ्रीका बाहिरिएको छ ।

समूह चरणको खेलसँगै क्वाटरफाइनल समीकरण समेत पूरा भएको छ ।
अब क्वाटरफाइनलमा स्पेनले आइभरी कोस्टसँग खेल्दा जापानले न्युजिल्याण्डसँग खेल्नेछ ।
त्यस्तै ब्राजिलले इजिप्टसँग दक्षिण कोरियाले मेक्सिकोसँग खेल्नेछ ।