काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग क्लब न्युरोड टिम एनआरटीले दुई अफ्रिकन खेलाडीलाई अनुबन्धित गरेको छ ।
एनआरटीले शनिबार पत्रकार सम्मेलन गर्दै मोसुके ओलुमो र स्टेफेन समिरलाई अनुबन्धित गरिएको जनाएको छ ।
चार पटकको च्याम्पियन एनआरटीले नयाँ सिजनको 'ए' डिभिजन लिगका लागि मोसुके र स्टेफेनलाई अनुबन्ध गरेको हो ।
यस वर्षको 'ए' डिभिजन लिग असोज ३ गतेबाट सुरु हुँदैछ ।
एनआरटीले चार विदेशी खेलाडी राख्न पाउने कोटा अन्तर्गत दुई खेलाडीसँग सम्झौता गरिएको जनाएको छ ।
क्लबले दुबै खेलाडीलाई सार्वजनिक समेत गरेको छ ।

मिडफिल्डर मोसुके र फरवार्ड स्टेफेनले नेपाल सुपर लिग (एनएसएल) काठमाडौं रेजर्स एफसीबाट खेलेका थिए । काठमाडौंलाई उअप्धि दिलाउन दुबैले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
मोसुके एनएसएलको सर्वाधिक गोलकर्ता बनेका थिए । उनले प्रतियोगिताका ९ खेलमा एक ह्याट्रिक सहित ८ गोल गरे ।
उनी एनएसएलका उत्कृष्ट मिडफिल्डर समेत चुनिएका थिए ।
अन्य खेलाडी अनुबन्धको प्रक्रिया अघि बढीसकेको समेत क्लबले जनाएको छ ।
क्लबमा अहिले १२ पुरानै खेलाडी रहेको पनि क्लबले जनाएको छ ।
यस पटक लिग जित्ने योजना बनाएको एनआरटीले लिगका लागि करिब १ करोड ६० लाख बजेट छुट्टाईएको जनाएको छ ।
एनआरटीले बिस २०१७, २०१९, २०३५ र २०५२ सालमा लिगको उपाधि जितेको थियो ।
