काठमाडौं । विराटनगर एफसीले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा सानदार जित निकालेको छ ।
आइतबार भएको आफ्नो पहिलो खेलमा विराटनगरले धनगढी एफसीमाथि ३-० को सानदार जित निकालेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विराटनगरलाई जित दिलाउन बिक्रम धिमाल, एडिलाजा सोमिडे र सन्तोष तामाङले एक एक गोल गरे ।
बिराटनगरले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरेको थियो ।

खेलको १६ औं मिनेटमा बिक्रमले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पेनाल्टी क्षेत्रभित्र धनगढीका डिफेन्डरले क्लियर गर्न नसकेको बलमा बिक्रमले सदुपयोग गरे ।
२० औं मिनेटमा धनगढीका दर्शन गुरुङको प्रहार विराटनगरका गोलकिपर किशोर गिरीले सहजै रोकिदिएका थिए ।
लगत्तै २३ औं मिनेटमा धनगढीले सुनौलो मौका गुमायो । खेलको २३ औं मिनेटमा निशान खड्काको क्रस टंकको प्रहारले पोस्टको दिशा लिन सकेन ।
४४ औ मिनेटमा विराटनगरका सुनिल बलको फ्रिकिक धनगढीका गोलकिपर किरणले पन्च गर्दै गोल हुनबाट जोगाएका थिए ।
दोस्रो हाफमा विराटनगरले धनगढीविरुद्ध लगातार आक्रमण बनायो ।
खेलको ५७ औं मिनेटमा सोमिडेले गोल गर्दै विराटनगरको अग्रता २-० को बनाए ।
निरकुमार राईको सुन्दर पासमा सोमिडेले सुन्दर गोल गरे ।
खेलको ६२ औं मिनेटमा धनगढीका आफिज ओलावालेले गोलको अवसर खेर फाले ।
गोलकिपर बिट भईसकेको अवस्थामा उनले कठिन कोणबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन ।

खेलको ६९ औं मिनेटमा सन्तोषले गोल गर्दै विराटनगरलाई ३-० को जित दिलाए । उनले सुनिल बलको पासमा उत्कृष्ट गोल गरेका थिए ।
खेलको ८९ औं मिनेटमा धनगढीका निशान सुनारले पेनाल्टी क्षेत्रबाट गोल गर्न सकेनन् । उनको प्रहार बाहिरिएको थियो ।
यस्तै खेलको इन्जुरी समयमा धनगढीका ओलावालेको प्रहार विराटनगरका गोलकिपर किशोर गिरिले बचाए ।
खेलको म्यान अफ दि म्याच विराटनगरका सन्तोष तामाङ चुनिए । उनले २५ हजार प्राप्त गरे ।
खेलको प्रोमोसिङ प्लेयर अफ दि म्याच विराटनगरकै निरकुमार राई चुनिए । उनले १० हजार हजार प्राप्त गरे ।
जितसँगै विराटनगरले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ ।
धनगढीले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।