काठमाडौं । पहिलो संस्करणको प्रभातेश्वर पुरुष भलिबल कप प्रतियोगितामा गीताञ्जली कलेज, एमभीटीसीको बी टिम र बुढानिलकण्ठ भलिबल क्लबले विजयी सुरुवात गरेका छन् ।
काठमाडौंको चन्द्रागिरीमा शनिबार सुरु प्रतियोगितामा गीताञ्जलीले सिटी स्पोर्टस, एमभीटीसी बीले केएस युवा क्लब र बुढानिलकण्ठले आरजी भलिबल क्लबलाई समान २–१ को सेटमा पराजित गरे ।
उद्घाटन खेलमा गीताञ्जली कलेजले सिटी स्पोर्टसलाई २३–२५, २५–१७ र २५–२३ को सेटमा पराजित गर्यो ।
दोस्रो खेलमा एमभीटीसीले केएस युवा क्लबलाई १८–२५, २५–२२ र २५–१८ को सेटमा हरायो । त्यस्तै, बुढानिलकण्ठले आरजी भलिबललाई २५–१८, २४–२६ र २४–२६ को सेटमा पराजित गर्यो ।

प्रभातेश्वर स्पोर्टस क्लबको आयोजनमा शनिबार सुरु प्रतियोगितामा १६ टिम सहभागी छन् ।
समूह एमा दिप्तेश्वर गाउँपालिका, आरजी भलिबल ग्रुप, बुढानिलकण्ठ भलिबल सेन्टर र श्री शान्त सेकेन्डर स्कुल पोखरा छन् ।
समूह बीमा फाइभ स्टार युथ क्लब, गीताञ्जली कलेज, सिटी स्पोर्टस र आरआर कलेज काठमाडौं छन् ।
यस्तै, समूह सीमा आयोजक प्रभातेश्वर स्पोर्टस क्लब, एमभीटीसी बसपार्क, देउराली युवा जागरण क्लब र मुगु रारा युथ क्लब छन् ।
समूह डीमा महाकाल भलिबल क्लब चन्द्रागिरी, ढोरपाटन क्लब, केएस युवा क्लब र एमभीटीसीको बी टिम छन् ।

समूहका शीर्ष दुई टिमले नकआउट चरणमा स्थान बनाउनेछन् । प्रतियोगिताको फाईनल खेल माघ ३ गते हुनेछ ।
प्रतियोगिताको विजेताले १ लाख, उपविजेताले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतियोगितामा एनभीए कप, प्रधान सेनापति कप, ढोरपाटन कप, प्रथम प्रकाश दाहाल स्मृति कप, प्रदेश स्तरीय प्रतियोगितामा समावेश भईसकेका खेलाडी खेल्न पाउने छैनन् ।