काठमाडौं । पहिलो संस्करणको प्रभातेश्वर पुरुष भलिबल कपको उद्घाटन खेलमा गिताञ्जली कलेज र सिटी स्पोर्टस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।
शुक्रबार सार्वजनिक 'ड्र' अनुसार १६ टिम सहभागी प्रतियोगिताको उद्घाटन खेलमा नयाँ बजारको गिताञ्जली र टोखाको सिटी स्पोर्टस भिड्ने टुङ्गो लागेको हो ।
शनिबार सुरु हुने प्रतियोगितामा सहभागी बनेका १६ टिमलाई चार समूहमा विभाजन गरिएको छ । सोही अनुसार उद्घाटन खेलमा समूह बीको दुई टिम भिड्ने टुङ्गो लागेको हो ।
समूह एमा दिप्तेश्वर गाउँपालिका, आरजी भलिबल ग्रुप, बुढानिलकण्ठ भलिबल सेन्टर र श्री शान्त सेकेन्डर स्कुल पोखरा परेका छन् ।
समूह बीमा फाइभ स्टार युथ क्लब, गिताञ्जली कलेज, सिटी स्पोर्टस र आरआर कलेज काठमाडौं छन् ।
यस्तै, समूह सीमा आयोजक प्रभातेश्वर स्पोर्टस क्लब, एमभीटीसी बसपार्क, देउराली युवा जागरण क्लब र मुगु रारा युथ क्लब रहेका छन् ।
समूह डीमा महाकाल भलिबल क्लब चन्द्रागिरी, ढारपाटन क्लब, केएस युवा क्लब र एमभीटीसीको बी टिम छन् ।
समूहका शीर्ष दुई टिमले नकआउट चरणमा स्थान बनाउनेछन् । प्रतियोगिताको फाईनल खेल माघ ३ गते हुनेछ ।
प्रतियोगिताका सम्पुर्ण खेल प्रभातेश्वर भलिबल मैदानमा हुनेछ ।
प्रतियोगिताको विजेताले १ लाख, उपविजेताले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतियोगितामा एनभीए कप, प्रधान सेनापति कप, ढोरपाटन कप, प्रथम प्रकाश दाहाल स्मृति कप, प्रदेश स्तरीय प्रतियोगितामा समावेश भईसकेका खेलाडी खेल्न नपाउने आयोजक प्रभातेश्वर स्पोर्टस क्लबले जनाएको छ ।
कोरानाका कारण प्रभावित बनेको घरेलु खेलकुदलाई चलायमान बनाउन प्रतियोगिता आयोजना गरिएको प्रभातेश्वर स्पोर्टस क्लबका अध्यक्ष शुनिल महर्जनले बताएका छन् ।
