काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले घरेलु फुटबलमा महिलाको प्रतियोगितालाई प्राथमिकतामा राख्ने भएको छ ।
एन्फाले महिला फुटबललाई प्राथमिकतामा राख्दै विभिन्न योजनाहरु अघि बढाएको छ ।
जस अन्तर्गत एन्फाले माघ र फागुनमा महिला लिग सकाउने योजना बनाएको छ ।
एन्फा महिला विभाग प्रमुख हरि खड्काले माघ र फागुनमा महिला लिग सक्ने तयारी भईरहेको खेलपाटीलाई जानकारी गराए ।
‘रोकिएको फाइनल चरण माघ फागुनमै गर्ने तयारी गरिरहेको छौं । कोरोना कहर केहि कम भए र कुनै गढबढी नभए माघमै सुरु गरेर फागुनमा सकाउने योजनामा छौं,' राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य समेत रहेका खड्काले भने ।
गत चैतमा चलिरहेको 'बी' डिभिजन लिग र बाकी रहेको 'सी' डिभिजन लिगलाई मात्रै टुंग्याउने तयारी गरिरहेको एन्फाले चैतमै तय भएको महिला लिगलाई समेत प्राथमिकतामा राखेको हो ।
कोरोना महामारीपछि चैतबाट लकडाउन सुरुसँगै एन्फाले महिला लिगलाई स्थगित गरेको थियो । तर, लिगका लागि फाइनल चरणको छनोट बाहेक अन्य छनोट चैत अघि नै सकिएको थियो ।
फाइनल चरणका लागि वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका, विराटनगर महानगरपालिका र चौदण्डीगढी नगरपालिका छनोट भएका थिए ।
काठमाडौंमै गर्ने तयारी गरिएको फाइनल चरणमा तीन विभागीय क्लब एपीएफ, आर्मी र पुलिस समेत सहभागी हुने छन् ।
एन्फाले प्रतियोगिताको तयारी गर्न र प्रतियोगिताबारे जानकारी केहि दिनमै सहभागी टिमलाई पत्र पठाउने तयारी गरेको छ ।
विभागीय टिमले आफ्नो प्रशिक्षण सुरु गरेपनि नगरपालिका टोलीले तयारी सुरु गरेका छैनन् ।
एन्फाले सहभागी ४ टिमको जवाफ आएपछि लिगको मिति घोषणा गर्नेछ ।
‘पहिला ४ टोलीको अवस्था कस्तो छ ? त्यो बुझ्छौं । त्यसैअनुसार कसरी प्रतियोगिता आयोजना गर्न सकिन्छ । त्यसमा लाग्छौं,' महिला राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक समेत रहेका खड्काले भने, ‘विभागीय टिमको तयारी सुरु भैसकेको छ । अब नगरपालिकालाई पनि तयारीका लागि पत्र पठाउँछौं । पत्रको उत्तर के कस्तो आउँछ । त्यसै अनुसार अगाडि बढ्छौं ।’
एन्फाले प्रतियोगिता संचालनको लागि काठमाडौंसँगै पोखरा र विराटनगरलाई पनि विकल्पको रुपमा हेरेको छ ।
पछिल्लो समय मात्रै पाचौं महिला साफ च्याम्पियनसिप सफलतापूर्वक संचालन गरेको विराटनगर नगरपालिकाले यस पटक यस प्रतियोगितालाई समेत चासो देखाएको छ ।
गत वर्षको मंसिरमा पोखरामा आयोजना भएको १३ औं दक्षिण एसियाली प्रतियोगिता (साग) यता महिला टिमले अन्तराष्ट्रिय खेलमा सहभागीता जनाउन पाएका छैनन् ।
त्यस लगत्तै महिला खेलाडीले प्रधानसेनापति महिला अन्तराष्ट्रिय प्रतियोगिता खेलेका थिए ।
लामो समय महिला फुटबल नभएको कारण एन्फाले कोरोनाको स्वास्थ्य मापदण्ड कायम गर्दै महिला लिगलाई अघि बढाउन लागेको हो ।
यदी माघ र फागुनमै सम्पन्न भएमा महिला लिग कोरोना महामारीपछि सुरु हुने नेपालको पहिलो लिग हुनेछ ।
फाइनल चरणमा भिड्ने टिम :
एपीएफ क्लब, आर्मी क्लब, पुलिस क्लब, चन्द्रपुर नगरपालिका, वालिङ नगरपालिका, चौदण्डीगढी नगरपालिका, विराटनगर महानगरपालिका