काठमाडौं । नेपालमा आयोजना हुने एएफसी यू-१६ महिला च्याम्पियनसिप छनोटको लागि नेपाली टोलीले प्रशिक्षण सुरु गरेको छ ।
छनोटको समूह 'ई' मा रहेको नेपालले आइतबारबाट प्रशिक्षण सुरु गरेको हो ।
आगामी सेप्टेम्बरमा दोस्रो साताबाट हुने समूह 'ई'मा नेपालसहित फिलिपिन्स, मलेसिया र म्यानमार रहेका छन् ।
छनोटको खेल तालिका समेत सार्वजनिक भईसकेको छ । छनोटको सम्पूर्ण खेल हल्चोकस्थित एपीएफ क्लबको मैदानमा हुनेछ ।
छनोटको लागि नेपालले पहिलो चरणमा २३ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । जसमा भुटानमा सम्पन्न यू-१५ साफ च्याम्पियनसिप खेलेको टोलीका ८ खेलाडीलाई परिवर्तन गरिएको छ ।
नेपाली टिमको मूख्य प्रशिक्षकमा गंगा गुरुङ, सहायक प्रशिक्षकमा श्याम मानन्धर र गोलकिपर प्रशिक्षकमा विनोद महर्जन रहेका छन् । नेपाली टोलीको ब्यवस्थापकमा नन्द कला थापा रहेका छन् । 
छनोटको पहिलो खेलमा नेपालले फिलिपिन्ससंग सेप्टेम्बर १९ मा खेल्नेछ । त्यस्तै दोस्रो खेलमा नेपालले म्यानमारसंग सेप्टेम्बर २१ मा खेल्नेछ । छनोटको अन्तिम खेलमा नेपालले मलेसियासंग सेप्टेम्बर २३ मा खेल्नेछ ।
समूहको बिजेताले दोस्रो चरणको यात्रा तय गर्नेछन् । यस्तै छनोटमा सहभागी ६ समूहको उपविजेता मध्ये उत्कृष्ट २ टोलीले दोस्रो चरणको यात्रा तय गर्नेछन् ।

दोस्रो चरणको छनोटमा बिजेता बन्ने चार टोलीले अर्को बर्ष थाइल्याण्डमा हुने एएफसी यू-१६ महिला च्याम्पियनसिपको यात्रा तय गर्नेछन् । फाइनल चरणमा आठ टोलीले खेल्नेछन् ।
आयोजक थाइल्याण्डसहित, जापान दक्षिण कोरिया र उत्तर कोरिया फाइनल चरणको लागि छनोट भईसकेका छन् ।

प्रशिक्षणमा रहेका नेपाली टिम :
सावित्री किसान, पुजा थापा, करिना धिमाल, खुस्मा राई, पुष्पा गुरुङ, सुरक्षा सिंह, सविना चौधरी, मनमाया परियार, प्रिति राई, सुष्मा तामाङ्ग, मनिषा विष्ट, अस्मिता चौधरी, सविता राना मगर, निकिता थोकर, चन्द्र भण्डारी, सुरक्षा सुक्रीया, मनिका घर्ति मगर, मुना मगर, श्रीषा कार्की, सुनिता सुनार, सजनी थोकर, मन्दिरा रहि, जुनु मगर
तस्विर/रमेश सुवेदी