एजेन्सी । कोरोना भाईरसको महामारीबीच जारी जर्मन बुन्डेस लिगा फुटबलमावायर्न म्युनिखले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा वायर्नले फ्रान्कफर्टलाई ५-२ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा वायर्नलाई जित दिलाउन लियोन गोर्टेज्का, थोमस मुलर, रोबर्टो लेवान्डोस्की र अल्फान्सो डेभिसले एक एक गोल गरे । वायर्नले एक आत्मघाती गोलको उपहार पाएको थियो ।
फ्रान्कफर्टका दुवै गोल मार्टिन हिन्टरगरले फर्काए ।

खेलको १७ औं मिनेटमा गोर्टेज्काले गोल गर्दै वायर्नलाई अग्रता दिलाएका थिए । ४१ औं मिनेटमा मुलरले गोल गर्दा पहिलो हाफमा घरेलु टोली २-० ले अघि रह्यो ।
दोस्रो हाफमा दुवै टोलीबाट गोलको वर्षा हुँदा खेल रोमान्चक बन्यो ।
खेलको ४६ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै वायर्नको अग्रता तेब्बर बनाए । ५२ औं मिनेटमा फ्रान्कफर्टका मार्टिनले गोल गर्दा खेल ३-१ को अवस्थामा पुग्यो । त्यसको तीन मिनेट पछि मार्टिनले व्यक्तिगत दोस्रो गोल गर्दा फ्रान्कफर्टले खेल ३-२ को स्थितिमा ल्यायो ।
तर, खेलको ६१ औं मिनेटमा डेभिसले गोल गर्दा वायर्न ४-२ ले अघि रह्यो । त्यसपछि खेलको ७४ औं मिनेटमा मार्टिनले आत्मघाती गोल गर्दा वायर्न ५-२ ले विजयी भयो ।

कोरोनाको महामारीको कारण स्थगित लिग सुचारुपछि वायर्नको यो लगातार दोस्रो जित हो । यस अघि वायर्नलेले युनियन बर्लीनलाई २-० ले हराएको थियो ।

जितसँगै वायर्नले लिगको शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ । वायर्नले २७ खेलबाट ६१ अंक जोडेको छ । दोस्रो स्थानको बोरुसिया डर्टमण्डको ५७ अंक रहेको छ । फ्रान्कफर्ट २८ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।
