एजेन्सी । कोरोना भाईरसको महामारीबीच जारि जर्मन बुन्डेस लिगा फुटबलमा बोरुसिया डर्टमण्डले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा डर्टमण्डले १० खेलाडीमा सिमित वुल्फवर्गलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
डर्टमण्डको जितमा राफेल गुइरेरियो र आच्रफ हाकिमीले एक एक गोल गरे ।
वुल्फवर्गको मैदानमा ३२ औं मिनेटमा राफेलले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७८ औं मिनेटमा हाकिमीले गोल गर्दै डर्टमण्डलाई २-० को सहज जित दिलाए ।

यस्तै खेलको ८० औं मिनेटमा फेलिक्स क्लाउसले रातो कार्ड खाएपछि अन्तिम १० मिनेट वुल्फवर्ग १० खेलाडीमा समेटिएको थियो ।
कोरोनाको महामारीको कारण स्थगित लिग सुचारुपछि डर्टमण्डको यो लगातार दोस्रो जित हो । यस अघि डर्टमण्डले शाल्केलाई ४-० ले हराएको थियो ।

जितसँगै डर्टमण्डले शीर्ष स्थानको वायर्न म्युनिखसँगको अंक दुरी १ मा झारेको छ ।
डर्टमण्डले २७ खेलमा ५७ अंक जोडेको छ । एक खेल कम खेलेको वायर्नको ५८ अंक रहेको छ ।
पराजित वुल्फवर्ग ३९ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
अर्को खेलमा वायर लिभरकुसेनले बोरुसिया मोन्चेनग्लाडवाचलाई ३-१ ले पराजित गरेको छ । वेर्डर ब्रेमेनले फ्रेईवर्गलाई १-० ले पराजित गर्दा होफेनहाइम र पाडेरबर्नले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।
