काठमाडौं । काठमाडौं जिल्ला क्रिकेट सिनियर छनोट प्रतियोगितामा ओसिस क्रिकेट एकेडेमी र हिमालयन क्रिकेट एकेडेमीले जित निकालेका छन् ।
मुलपानी क्रिकेट मैदानमा शुक्रबार भएको पहिलो खेलमा ओसिसले यांगल क्रिकेट क्लबलाई २१ रनले पराजित गर्यो ।
ओसिसले दिएको १ सय ५८ रनको लक्ष्य पछाएको यांगलले २२ ओभर १ बलमा १ सय ३६ रन बनाउँदा अल आउट भयो । उसका दिपेश दासले सर्वाधिक ४० रन बनाए । यस्तै पंकज कोइरालाले ३८, लक्ष्मण प्रधानले १८ र बिजय बाराकोटीले १६ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । ओसिसका सन्देश कार्कीले ६ विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओसिसले २५ ओभरमा सबै विकेट गुमाएर १ सय ५७ रन बनायो । उसका सचिन शर्माले ७५ रनको अर्धशतकीय इनिङ खेले । यस्तै आशिस भट्टराईले २६, सुदिप बस्नेतले १८, सुमित श्रेष्ठले ११ र आयुष बानियाले१० रन को योगदान गरे । यांगलका प्रमेश बिक्रमले ४ तथा राम प्रधानले २ विकेट हात पारे ।
दुई खेलमा दुई हार ब्यहोरेको यांगल प्रतियोगिताबाट बाहिरिएको छ ।
यस्तै अर्को खेलमा हिमालयनले फरेबर क्रिकेट ब्वाईज क्लबलाई डिएल पद्दतिको आधारमा ४४ रनले पराजित गर्यो ।
वर्षाको कारण १८ ओभरमा झारिएको खेलमा हिमालयनले ३ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो । उसका प्रदिप कुमार बिकले ५७ रन जोड्दा रजत तिमल्सिनाले ४६ रन जोडे ।
जवाफमा फरेबरले १८ ओभरमा ८ विकेट गुमाएर १ सय १० रन मात्र बनाउन सक्यो । उसका निरज भट्टराईले १८ रन जोड्दा प्रजिन नापितले १५ रन जोडे ।
हिमालयनका शरद खड्काले ५ विकेट लिए ।