काठमाडौं । महावीर क्रिकेट क्लबले काठमाडौं जिल्ला क्रिकेट सिनियर छनोट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
मुलपानी क्रिकेट मैदानमा बुधबार भएको पहिलो खेलमा महावीरले यांगल क्रिकेट क्लबलाई १० विकेटले पराजित गर्यो ।
यांगलले दिएको १ सय २० रनको लक्ष्य महावीरले १४ ओभरमा विना विकेटको क्षतीमा पुरा गर्यो ।
महावीरको जितमा रबिन जोशीले अविजित रहदै ८४ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४६ बलमा १२ चौका र २ छक्का प्रहार गरे । यस्तै बिभत्सु थापाले अविजित ३० रन बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यांगल क्रिकेटले २५ ओभरमा ८ विकेट गुमाएर १ सय १९ रन बनाएको थियो । उसका अभिलास अधिकारीले सर्वाधिक ३४ रन बनाए । यस्तै दिपेस दासले २३ रन र संजय बाराकोटीले १२ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
महावीरका सन्जम रेग्मीले ३ विकेट हात पारे । यस्तै चन्द्र कुमार बुडाले २ तथा ज्योति भण्डारीले १ विकेट लिए ।
खेलमा प्लेयर अफ दि म्याच महावीरका रबिन जोशी चुनिए ।
प्रतियोगितामा १२ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।