धरान । मनाङ मर्स्याङ्दी क्लबले २२ औं बूढासुब्बा गोल्डकप फुटबलको उपाधि जितेको छ ।
धरान रंगशालामा शनिबार भएको फाइनलमा पाँच पटकको च्याम्पियन नेपाल पुलिस क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै मनाङ च्याम्पियन बनेको हो ।
मनाङलाई उपाधि दिलाउन दयानन्द सिंह, निशान लिम्बु र विमल रानाले एक एक गोल गरे । पुलिसका भोला सिलवालले एक गोल फर्काए ।
पुलिसविरुद्ध खेलको दशौँ मिनेटमा दयानन्दले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए ।
खेलको ५० औं मिनेटमा निशानले गोल गर्दै मनाङको अग्रता २-० को बनाए ।
त्यसपछि खेलको ६५ औं मिनेटमा पुलिसका कप्तान भोलाले पेनाल्टीमा एक गोल गरेपनि टोलीको हार टार्न सकेनन् ।
उपाधिसँगै मनाङले १० लाख प्राप्त गरेको छ । उपविजेता पुलिसले ५ लाखमा चित्त बुझायो ।
मनाङको यो सिजनको पहिलो उपाधि हो।
प्रतियोगितामा मनाङका सुरज बिक सर्वाेत्कृष्ट खेलाडी चुनिए । उनले होण्डाको डियो स्कुटी पुरस्कार प्राप्त गरे ।
मनाङका दयानन्द सिंहले सर्वाधिक गोलकर्ता चुनिदै ३५ हजार प्राप्त गरे ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलकिपर मनाङका अशोक मास्के, उत्कृष्ट डिफेन्डर पुलिसका सुमन सुवेदी, उत्कृष्ट मिडफिल्डर मनाङका पुजन उपरकोटी, उत्कृष्ट फरवार्ड पुलिसका जुमनु राई र उत्कृष्ट प्रशिक्षक मनाङका फुजा तोपे घोषित भए ।
उनीहरुले जनही २५/२५ हजार प्राप्त गरे ।
धरान फुटबल क्लबका रिभस मास्के उदयमान खेलाडी चुनिएर १० हजार जिते ।
यस अघि सेमिफाइनलमा मनाङले भारतको युके एफसीलाई २-० गोल अन्तरले हराएको थियो ।
पुलिसले भने मछिन्द्र फुटबल क्लबलाई सडन डेथमा ५-४ गोल अन्तरले पराजित गरेको थियो ।