काठमाडौं। रियल मड्रिडले ला लिगाको उपाधि बचाउने सम्भावना लभगभ शून्य छ।
तर, बार्सिलोनालाई समयभन्दा अगाडि उपाधि जित्न नदिनु आफ्नो गर्वको विषय बनाएको छ। बुधबार रियलले इन्जुरी समयमा गरेको गोलले बार्सिलोनालाई उपाधि उचाल्न अझै कुराएको छ।
इन्जुरी समयको पाँचौं मिनेटमा याकोबो रामोनले निर्णायक गोल गर्दै मालोर्काविरुद्ध रियललाई २–१ को जित दिलाएका हुन्। यस जितसँगै बार्सिलोनाको २८औं ला लिगा उपाधिको उत्सव मनाउने तयारी केही दिनका लागि रोकिएको छ।
मालोर्काले खेलको ११औं मिनेटमै मार्टिन भ्याल्जेन्टको गोलबाट अग्रता लिएको थियो। तर, खेलको ६८औं मिनेटमा किलियन एमबाप्पेले दुई डिफेन्डरलाई छक्याउँदै बराबरी गोल फर्काए।
यो जितसँगै बार्सिलोना रियलभन्दा चार अंकले अगाडि छ। तर, उसले बिहीबार सहरी प्रतिद्वन्द्वी एस्पान्योलविरुद्ध जित निकाल्न सके उपाधि उचाल्नेछ। रियलले अब बाँकी रहेका दुई खेल जित्नैपर्ने छ भने बार्सिलोनाले बाँकी तीन खेलमा दुई अंक मात्रै जोडे उपाधिको ढोका खुल्नेछ।
‘हामी यो क्लबको लोगो लगाएर खेल्दा अन्तिम क्षणसम्म लड्नैपर्छ,’ गोलकिपर थिबाउ कर्टोइजले भने,‘ अंकतालिकामा अन्तिम घोषणा नभएसम्म हामी अझै पनि आशावादी छौं।’
एमबाप्पे अहिले २८ गोलसहित लिगका ‘टप स्कोरर’ हुन्। उनी बार्सिलोनाका रोबर्ट लेवान्डोस्कीभन्दा तीन गोल अगाडि छन्। एमबाप्पे आइतबारको क्लासिकोमा ह्याट्रिक गर्दै चम्किएका थिए, जहाँ बार्सिलोना ४–३ को जित निकालेर उपाधिनजिक पुगेको थियो।
यो सिजन रियलले बार्सिलोनासँग चारै खेल गुमायो। जम्मा १६–७ गोलअन्तरको पराजय बेहोर्यो। बार्सिलोनाले एक सिजनमा रियलविरुद्ध खेलेका तीन वा सोभन्दा बढी सबै खेल जितेको यो पहिलोपल्ट हो।
बुधबारको खेलमा रियलका प्रशिक्षक कार्लो एन्सोलोटीको नाम सार्वजनिक हुँदा सान्टियागो बर्नाबेउ स्टेडियममा खासै प्रतिक्रिया देखिएन। न त विरोध भयो, न त विशेष स्वागत। केही समर्थकहरूले भने उनको नाम चिच्याउँदै सम्मान प्रकट गरे।
६५ वर्षीय इटालियन प्रशिक्षक कार्लो ब्राजिलको राष्ट्रिय टोलीका नयाँ प्रशिक्षक बन्ने घोषणा भइसकेको छ। रियलमा आफ्नो दोस्रो कार्यकालमा उनले च्याम्पियन्स लिग, ला लिगा, कोपा डेल रे, स्पेनिस सुपर कप, युएफा सुपर कप र क्लब विश्वकपसहित थुप्रै उपाधि जितेका छन्।
‘हरेक पल बर्नाबेउमा बस्नु विशेष हुन्छ। अहिलेसम्म उपाधि गुमेको छैन। फुटबलमा जे पनि सम्भव छ,’ कार्लोले भने। उनीपछि जाभी अलोन्सो नयाँ प्रशिक्षक बन्ने चर्चा छ। तर, क्लबले अझै औपचारिक घोषणा गरेको छैन।