काठमाडौं। लिओनल मेसीले मेजर लिग सकर (एमएलएस) मा संलग्न भएपछि पहिलो पटक बे एरियामा खेलेको खेलमा इन्टर मियामीले सान जोसे अर्थक्वेइक्ससँग ३–३ को नाटकीय बराबरी खेलेको छ।
बिहीबार बिहान भएको यो खेलमा मियामीका लागि ताडेओ अल्लेन्देले दुई गोल गरे। अल्लेन्देले पहिलो हाफमा एक गोल गरे। दोस्रो हाफको ५२औं मिनेटमा बाल्तासार रोड्रिग्वेजको पासमा सजिलो ट्यापइन गर्दै बराबरी गोल थपे। यो आक्रमणको सुरुआत मेसीकै पासबाट भएको थियो।
मियामीका लागि म्याक्सिमिलियानो फाल्कोनले पनि एक गोल गरे। पछिल्ला चारमध्ये तीन खेलमा मियामीले कम्तीमा तीन गोल खाएको छ, जसले टोलीको डिफेन्समा प्रश्न उठाएको छ।
सान जोसेका लागि क्रिस्टियन आराङ्गो, ब्यु लरु र इयान हार्केसले गोल गरे। अर्थक्वेइक्सले पछिल्ला तीन खेलमा अपराजित रहँदै सकारात्मक लयमा देखिएको छ।
खेलको ९० मिनेटपछि मियामीलाई जित दिलाउने अवसर मेसीसँग थियो। तर, उनलाई गोलकिपर ड्यानियल डे साउसा ब्रिट्टोले क्लोज रेञ्जबाट रोके। त्यसपछि थप समयमा मेसीलाई बक्स बाहिर स्पष्ट ट्याकल गरिएको भए पनि रेफ्रीले कुनै फाउलको संकेत गरेनन्। यो घटनापछि मेसी आक्रोशित हुँदै रेफ्रीसँग विवादमा उत्रिए। त्यसपछि उनलाई पहेँलो कार्ड देखाइयो।