काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लबका स्ट्राइकर सुमन लामाले सहिद स्मारक 'ए' डिभिजन लिगका बाँकी खेल गुमाउने भएका छन् ।
राष्ट्रिय टिमका पूर्व सदस्य रहिसकेका सुमनले खुट्टाको चोटका कारण लिगको बाँकी खेल गुमाउने भएका हुन् ।
लिगको छैटौं चरण अन्तर्गत एनआरटीसँगको खेल दौरान सुमनले चोट बोकका थिए । खेलको अन्तिम समयमा सुमनको खुट्टामा चोट लागेको थियो । उनको खुट्टाको कान्छी औला फ्याक्चर भएको छ । त्यस खेलमा पुलिस १-० गोल अन्तरले पराजित भएको थियो ।
एक साता अघि चोट बोकेका सुमनले सोमबार चोटको प्लास्टर गरेका छन् । नेपाल अर्थपेटिक हस्पिटल बौद्धमा उपचार गरेका उनलाई डाक्टरले ६–८ हप्ता विश्राम लिन सुझाब दिएको छ ।
‘लिगका बाँकी खेल गुमाउने भएको छु । डाक्टरले ६–८ हप्ता आराम गर्नु भनेका छन्,’ सुमनले खेलपाटीसँग भने ।

लिगमा पुलिसले अब ४ खेल खेल्न बाँकी रहेको छ । जारी लिगमा ५ खेल खेलेका सुमनले ४ गोल गरिसकेका छन् ।
गत सिजन पनि पुलिसबाट ३ खेल खेलेका सुमन चोटका कारण लिग गुमाउन पुगेका थिए । करिब ६ महिना बाहिर रहेका सुमन बुटवलमा भएको तिलोत्तमा गोल्डकप मार्फत फुटबलमा पुनरागन गरेका थिए ।
यस चोटसँगै फिफा विश्वकप छनोटको लागि राष्ट्रिय टिममा रहने सुमनको सपना तुहिएको छ ।
‘यस सिजन मेहनत गरेको थिए । घरेलु भूमिमा हुने फिफा विश्वकप छनोटको लागि टिममा पर्न मेहनत गर्ने सोच थियो । लिगमा राम्रो भईरहेको थियो । घाईते हुँदा सम्पूर्ण सपना गुम्यो,’ सुमनले भने ।

एन्फा एकेडमीका सुमन नेपालले बंगबन्धु गोल्डकप, सोलीडारिटी कप र १२औं दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण पदक जित्दा राष्ट्रिय टिमको सदस्य थिए ।
यस्तै सुमनले नेपालको उमेरसमूह यू-१६, १८, १९ र २३ टिमको प्रतिनिधित्व गरिसकेका छन् ।
बौद्ध क्लबबाट 'ए' डिभिजन लिग खेल्न थालेका सुमनले एनआरटीहुँदै नेपाल पुलिस क्लबको जागिरे भएका थिए ।
