मनोज थापा
पोखरा । नेपाली राष्ट्रिय महिला ह्यान्डबल टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्ने आशा लिएको छ ।
पोखरामा अन्तिम तयारी गरिरहेको नेपाली टोलीले घरेलु भूमिमा स्वर्ण जित्दै ऐतिहासिक सफलता प्राप्त गर्ने लक्ष्य राखेको हो ।
'टिमको तयारी अन्तिम चरणमा पुगेको छ,' मुख्य प्रशिक्षक कृष्ण शाक्यले भने, 'सागमा महिलातर्फ स्वर्ण जित्ने लक्ष्य रहेको छ ।'
भारतको लखनउमा भएको ह्यान्डबलको साफ च्याम्पियनसिपमा टिम उपविजेता बनिसकेको कारण नेपालले स्वर्ण जित्ने सम्भावना बढी रहेको प्रशिक्षक शाक्यले बताए ।
प्रशिक्षक शाक्यले ह्यान्डबल पदकका लागि सम्भावना बोकेको खेल भएपनि राज्यले चासो नदिएको बताए ।
'राष्ट्रिय खेलकुद र सागको बेला मात्र यस खेल राज्यको नजरमा पर्छ । यस खेलको धेरै प्रतियोगिता नहुनु नै दुर्भाग्य हो,' प्रशिक्षक शाक्यले भने ।
प्रशिक्षक शाक्यले महिला ह्यान्डबलमा नेपालको मुख्य प्रतिद्वन्दी भारत रहेको बताए ।
ह्यान्डबल मंसिरको १७ गतेबाट पोखरा कभर्डहलमा हुनेछ । जसमा ६ राष्ट्रको सहभागिता रहेको छ ।
सागको लागि महिला टोलीले थाइल्याण्डमा एक साताको तयारी गरेको थियो ।
महिला टिम :
रन्जना राई, बन्दना राई, निशा राई, कल्पना ओली, रामकुमारी चौधरी, शारदा विक, यमा राई, कबिता राई, भिममाया थापा, शान्तीकला राई, आईतालामू शेर्पा, बबिता श्रेष्ठ, संगिता चौधरी, दुर्गा बोहरा, अर्चना न्यौपाने, देशकुमारी बास्कोटा ।