काठमाडौं । राष्ट्रिय फुटबल टिमका स्ट्राइकर भरत खवासले सात महिनापछि राष्ट्रिय टिमको जर्सीमा मैदान उत्रदा आफुलाई डेब्यु गरेको जस्तै अनुभव भएको बताएका छन् ।
विश्वकप छनोट अन्तर्गत मंगलबार भुटानमा कुवेतविरुद्ध मैदान छिर्दै राष्ट्रिय टिममा पुनरागमन गरेका भरतले छोटो समय मैदानमा बिताएपनि आफुलाई विशेष महसुस भएको बताए ।
‘७ महिना भएको थियो राष्ट्रिय टिमबाट नखेलेको । आज खेल्दा डेब्यु गरेको झै अनुभव भयो,’ खेलपाटीसँग भरतले भने ।
कुवेतविरुद्ध प्रशिक्षक जोहान कालिनले खेलको ७९ औं मिनेटमा भरतलाई अभिषेक रिजालको स्थानमा मैदान प्रवेश गराएका थिए ।
यस्तै भरतले राष्ट्रिय टिममा फर्कदा धेरै खुसी भएको बताए । ‘१० मिनेट मात्रै भएपनि खेल्न पाए । धेरै खुसी छु,’ उनले थपे ।
त्रिभुवन आर्मीका लप्टन भरत विभागीय तालिमका लागि देश बाहिर रहदा लामो समय टिम बाहिर रहदै आएका थिए । तर, भरतले दुई साता अघि म्यानमारविरुद्धको मैत्रीपूर्ण खेलका लागि टिममा पर्दै राष्ट्रिय टिममा पुनरागमन गरेका थिए । तर, मैत्रीपूर्ण भरत बेन्चमै सिमित भएका थिए ।
यस्तै भरतको पुनरागमन सुखद भने रहेन् । भरत टिममा फर्किएको खेलमा नेपाल चाम्लिमिथाङ रंगशालामा कुवेतसँग १–० गोल अन्तरले पराजित भयो ।
सन् २००८ बाट राष्ट्रिय टिमको जर्सी लगाएका भरतले हालसम्म १० गोल गरिसकेका छन् । भरतले पाकिस्तानविरुद्ध पोखरामा भएको दुई मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेका थिए ।
यो पनि
'पुन: राष्ट्रिय टिममा स्थान सुरक्षित गर्छु'