काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका स्ट्राइकर भरत खवास पछिल्लो पाँच महिना राष्ट्रिय टिम बाहिर रहे ।
नेपाली सेनाका लेफ्टिनेन्ट रहेका स्ट्राइकर भरत विभागीय तालिमको कारण राष्ट्रिय टिम बाहिर रहदै आएका थिए । फ्लाइट डिस्प्याचर र फ्लाइट अपरेसन अफिसर तालिमका लागि भरत गत जेठमा थाइल्याण्ड गएका थिए ।
भरत अहिले तालिम सकेर नेपाल फर्किसकेका छन् । र, भरत राष्ट्रिय टिममा स्थान बनाउने लक्ष्यसहित पुन: फुटबल मैदान फर्किएका छन् ।
नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक योहान कालिनले भरतलाई राष्ट्रिय टिमको प्रशिक्षणमा समेत बोलाएका छन् ।
नेपालले बुधबार थालेको प्रशिक्षणमा भरतसँगै गोलकिपर एलेन न्यौपाने र मिडफिल्डर सुबास गुरुङ पनि सामेल भएका छन् ।
सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपका लागि एसियाको दोस्रो चरणको छनोटमा प्रतिस्पर्धा गरिरहेको नेपालले अब घरेलु मैदानमा चार खेल खेल्न बाँकि रहेको छ ।
छनोटको समूह 'बी' मा रहेको नेपालले कुवेतसँग मंसिर ३ गते दशरथ रंगशालामा पहिलो घरेलु खेल खेल्दैछ । कुवेतसँगको खेलअघि नेपालले म्यानमारसँग कात्तिक २१ गते मैत्रीपूर्ण खेल खेल्नेछ ।

म्यानमारसँगको मैत्रीपूर्ण र कुवेतसँग खेल्ने टिममा पर्दै भरत राष्ट्रिय टिममा पुनरागमन गर्न चाहन्छन् ।
'हामीसँग होम गेमको समय निकै थोरै छ । टिमको तयारीमा आएको छु,' भरतले खेलपाटीसँग भने, 'अहिले राष्ट्रिय टिमको तयारीमा आउनु नै ठुलो कुरा हो । टिमसँग तयारी गर्न पाए । खुसी छु ।'
भरत राष्ट्रिय टिम बाहिर रहदा नेपालले नेपालले विश्वकप छनोटका ४ खेल र ३ मैत्रीपूर्ण खेल खेलिसकेको छ ।
थाइल्याण्डमा तीन महिनाको तालिम सकेर स्वदेश फर्किएपनि भरत जोर्डन र अष्ट्रेलियाविरुद्धको खेलका लागि टिमको प्रशिक्षणमा परेका थिएनन् । त्यसबीचमा भरतले त्रिभुवन आर्मी क्लबबाट केहि मोफसलका प्रतियोगिता खेलेका थिए ।

घरेलु मैदानमा हुने खेलका लागि भने भरतलाई टिमको प्रशिक्षणमा डाकिएको छ । भरत यस अवसरलाई सदुपयोग गर्दै राष्ट्रिय टिममा फर्कन चाहन्छ ।
'टिममा पर्छु कि पर्दिन अहिले थाहा छैन । त्यो पछिको कुरा हो । समयले बताउँछ तर म मेहनत गर्न छाड्दिन, म अभ्यासमा शतप्रतिशत दिएर खेल्छु । म राष्ट्रिय टिममा आफ्नो स्थान फेरि सुरक्षित गर्न लाग्ने छु,' भरतले भने ।
पाँच महिना टिम बाहिर रहेका भरतलाई पुन: टिममा स्थान बनाउन भने निकै चुनौती छ । किनकी पछिल्लो समय युवा खेलाडीले सिनियर खेलाडीको स्थान ओगट्दै आएका छन् । यस विषयमा भरत पनि जानकार छन् ।
'पछिल्लो समय जुनियर भाईहरुले राम्रो गरिरहेका छन्, उनीहरु लगातार ४ महिनाबाट सेटमै खेलिरहेको छन्, यस्तो अवस्थामा मलाई स्थान बनाउन गाह्रो हुन्छ,' भरत भन्छन्, 'तर, त्यहि अनुसार मेहनत गरेर स्थान बनाउन लाग्नेछु ।'
मुख्य प्रशिक्षक कालिनले नेपाली टिमबाट आफुले चाहेको जस्तो अट्याकर पाईरहेका छैनन् । उनले प्रत्येक खेलमा स्ट्राइकिङ पक्ष परिवर्तन गरिहेको छन् ।
नियमित स्ट्राइकर विमल घर्ति मगर, अभिषेक रिजाल, नवयुग श्रेष्ठबाट कालिन पूर्ण सन्तुष्ट छैनन् । त्यसैले भरतले विकल्पको रुपमा आफुलाई स्थापित गर्न भने सक्ने छन् ।

सन् २००८ बाट राष्ट्रिय टिमको जर्सी लगाएका भरतले हालसम्म १० गोल गरिसकेका छन् । भरतले पाकिस्तानविरुद्ध पोखरामा भएकोे दुई मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेका थिए ।
पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा पहिलो रोजाईमा परेका भरतले डेब्यु खेलमै गोल गरेका थिए । त्यसयता उनले नियमित राष्ट्रिय टिममा स्थान बनाउँदै आएका थिए ।
भरत नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडीको सूचीको तेस्रो स्थानमा रहेका छन् । भरतलाई नेपालका लागि सर्वाधिक गोलकर्ताको कीर्तिमान तोड्न सक्ने खेलाडीको रुपमा लिईएको छ ।
नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडीमा निराजन रायमाझी र हरि खड्का रहेका छन् । दुवैले १३/१३ गोल गरेका छन् । यस्तै जुमानु राईले ११ गोल गरेका छन् ।
भरतको गोल :
पाकिस्तानविरुद्ध - २
अफगानिस्तानविरुद्ध -१
बंगलादेशविरुद्ध- १
नर्दन मारियानाविरुद्ध -३
जोर्डनविरुद्ध-१
भुटानविरुद्ध -१
ब्रुनाईविरुद्ध - १