काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत नेपाल र कुवेतबीचको खेल भुटानमा हुने पक्का भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार नेपाल र कुवेतबीचको खेल भुटानमा हुने निश्चित भएको जनाएको छ ।
खेल थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा हुने एन्फाले जनाएको छ । नेपाल र कुवेतबीचको खेल मंसिर ३ गते हुनेछ ।
विश्वकप छनोट अन्तर्गत नेपालको पहिलो होम खेलको रुपमा रहेको यस खेल यस अघि दशरथ रंगशाला हुने तय भएको थियो । तर, पुन:निर्माण भईरहेको नेपालको दशरथ रंगशाला अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नबनेपछि फिफा र एसियन फुटबल फेडेरेसन (एएफसी) ले खेल न्युट्रल भेन्युमा गर्न एन्फालाई निर्देशन दिएको थियो ।
त्यसपछि एन्फाले एएफसीलाई भुटानको चाङ्लिमिथाङ रंगशालाको नाम सिफारिस गरेको थियो । नेपालको सिफारिसमा एएफसीले स्वीकृति दिएको एन्फाले जनाएको छ ।
सन् २०२३ मा चीनमा आयोजना हुने एएफसी एसिया कप छनोटको रुपमा समेत हेरिएको विश्वकप छनोटमा नेपाल समूह बी मा रहेको छ ।
छनोटको सबै अवे खेल खेलिसकेको नेपालले ४ खेलमा ३ अंक जोडेको छ । नेपाल समूहको चौंथो स्थानमा छ ।
यस अघि कुवेतसँग अवे खेलमा नेपाल ७–० को भारी गोल अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा अन्जन विष्टको दुई गोल मद्दतमा नेपालले चाईनिज ताईपेलाई २–० गोल अन्तरले पराजित गर्याे ।
यस्तै तेस्रो खेलमा एसियाली पावर हाउस अष्ट्रेलियासँग ५–० ले पराजित हुँदा अन्तिम अवे खेलमा नेपाल जोर्डनसँग ३–० गोल अन्तरले पराजित भएको थियो ।
