काठमाडौ । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलका लागि म्यानमार पुगेको नेपाली राष्ट्रिय फुटबल टिम आज (शनिबार) स्वदेश फर्कने भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टिम शनिबार दिउँसो ३ बजेपछि नेपाल आईपुग्ने जनाएको छ ।
कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबलको दोस्रो चरणको छनोट खेलिरहेको नेपालले बिहीबार म्यानमारसँग मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपाल ३–० गोल अन्तरले पराजित भएको थियो ।
विश्वकप छनोटमा कुवेतविरुद्धको खेल अगाडी नेपालले म्यानमारसँग मैत्रीपूर्ण खेल खेलेको हो ।
सन् २०२३ मा चीनमा आयोजना हुने एएफसी एसिया कप छनोटको रुपमा समेत हेरिएको विश्वकप छनोटमा नेपाल समूह बी मा रहेको छ ।
छनोटको सबै अवे खेल खेलिसकेको नेपालले ४ खेलमा ३ अंक जोडेको छ ।
नेपाल समूहको चौंथो स्थानमा छ । यसअघि कुवेतसँग अवे खेलमा नेपाल ७–० गोल अन्तरले पराजित भएको थियो ।
दोस्रो खेलमा अन्जन विष्टको दुई गोल मद्दतमा नेपालले चाईनिज ताईपेलाई २–० गोल अन्तरले पराजित गरेको थियो ।
तेस्रो खेलमा एसियाली पावर हाउस अष्ट्रेलियासँग ५–० ले पराजित हुँदा अन्तिम अवे खेल जोर्डनसँग ३–० ले गुमाएको थियो ।