एजेन्सी । सेल्टिक युरोपा लिग फुटबलको अन्तिम ३२ मा प्रवेश गरेको छ ।
बिहिबार राति भएको समूह चरणको खेलमा इटालियन क्लब लाजियोलाई २-१ गोल अन्तरले पराजित गर्दै सेल्टिक अन्तिम ३२ मा पुगेको हो ।
लाजियोको मैदानमा सुरुवाती अग्रता उल्टाएर सेल्टिकले जित निकालेको हो । खेलको सातौं मिनेटमा सिरो इमोबाइलले गोल गर्दै लाजियोलाई अग्रता दिलाएका थिए ।

खेलको ३८ औं मिनेटमा जेम्स फोरेस्टले गोल गर्दै सेल्टिकलाई खेलमा फर्काए । त्यसपछि खेलको इन्जुरी समयमा ओलिभरले गोल गर्दै सेल्टिकलाई २-१ को जित दिलाए ।
जितसँगै समूह 'ई' को सेल्टिकले ४ खेलबाट १० अंक जोडेको छ । र, सेल्टिक शीर्ष स्थानमा रहेको छ । पराजित लाजियो ३ अंक जोडेर तेस्रो स्थानमा छ ।
यसै समूहको अर्को खेलमा क्लुजले रेनसलाई १-० ले हराएको छ ।