काठमाडौं। क्रिस्टियानो रोनाल्डोले छैटौं विश्वकप खेल्ने लक्ष्यतर्फको यात्रालाई धमाकेदार रूपमा सुरु गरेका छन्। शनिबार उनले दुई गोल गर्दै पोर्चुगललाई आर्मेनियामाथि ५–० को ठूलो जित दिलाए।
यससँगै ४० वर्षीय स्ट्राइकरले अन्तर्राष्ट्रिय फुटबलमा पुरुषतर्फकै सर्वाधिक गोलकर्ता भएको आफ्नै कीर्तिमानलाई १४० गोलसम्म पुर्याए। करिअरको अन्तिम चरणतर्फ अघि बढिरहे पनि नयाँ कीर्तिमान बनाउने उनको उत्साह अझै कम भएको छैन भन्ने प्रमाण उनले फेरि प्रस्तुत गरे।
हालै उनले साउदी अरबको क्लब अल–नासरसँग नयाँ सम्झौता गरेका छन्। गत वर्ष उनले पोर्चुगललाई युरोपियन नेसन्स लिगको उपाधि पनि जिताएका थिए।
तर, विश्वकप भने अझै उनको हातमा पर्न नसकेको मुख्य उपाधि हो। यो कारणले उनी सन् २०२६ मा संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकपलाई सम्भवतः आफ्नो अन्तिम अवसरका रूपमा देखिरहेका छन्।
त्यतिबेला उनको चिरप्रतिद्वन्द्वी लिओनल मेसी पनि छैटौं विश्वकप खेल्दै हुनेछन्। भाज्गेन सार्गस्यान रिपब्लिकन रंगशालामा भएको खेलमा रोनाल्डोले दुवै हाफमा एक–एक गोल गरे। दोस्रो गोल उनले करिब २५ मिटर टाढाबाट शक्तिशाली प्रहारमार्फत गरे, जसले उनको पुरानो प्रदर्शनलाई फेरि सम्झायो।
पोर्चुगलका लागि जोआओ फेलिक्सले पनि दुई गोल गरे। पहिलो गोल उनले खेल सुरु भएको १० मिनेटमै गरेका थिए। जोआओ कान्सेलोले पनि स्कोरशिटमा नाम लेखाए।
पोर्चुगलका मिडफिल्डर भिटिन्हाले खेलपछि भने,‘यो लगभग परिपूर्ण प्रदर्शन थियो।’
त्यस्तै, इंग्ल्यान्डले पनि आफ्नो छनोट यात्रामा शतप्रतिशत नतिजा कायम राखेको छ। भिला पार्कमा भएको खेलमा थमस टुचेलको टिमले एन्डोरामाथि २–० को जित निकालेको हो।