झापा । गोर्खा ब्वाइज स्पोर्टस क्लब बुटबललाई टाइब्रेकरमा पराजित गर्दै काठमाडौँको चर्च ब्वाइज युनाइटेड हाम्रो पूर्वाञ्चल गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा बिहीबार भएको अन्तिम क्वाटरफाइनलमा गोर्खा ब्वाईजलाई टाईब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाईज अन्तिम चारमा पुगेको हो ।
निर्धारित ८० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।
खेलमा अग्रता चर्च ब्वाइजले लिएको थियो । ६६ औँ मिनेटमा कप्तान सन्तोष न्यौपानेले टोलीलाई अग्रता दिलाएका थिए ।
तर त्यसको दुई मिनेटपछि गोर्खा ब्वाइजका रुमेश बाँस्तोलाले बराबरी गोल गरेका थिए ।
निर्धारित समयमा खेल बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरमा गरिएको थियो ।
चर्च ब्वाइजका उमेश राई, राजेन्द्र रावल, कैलाश बस्नेत र पाल्साङ लामाको प्रहार गोलमा परिणत भएको थियो ।
गोर्खा ब्वाइजका तर्फबाट रुपेश केसी, दिपक राईले गोल गरे । बुद्ध चेम्जोङ र मनोज श्रेष्ठको प्रहार चर्च ब्वाइजका गोलरक्षक विनय श्रेष्ठले बचाउ गरेका थिए ।
प्रतियोगितामा १० वटा टिम सहभागी छन् । विजेताले साँढे १२ लाख र उपविजेताले ६ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।