एजेन्सी । जर्मन क्लब वायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।
बुधबार राति भएको समूह चरणको खेलमा ओलम्पिकोसलाई २-० गोल अन्तरले पराजित गर्दै वायर्नले अन्तिम १६ को यात्रा तय गरेको हो ।
घरेलु मैदानमा खेलको ६९ औं मिनेटमा रोबर्टो लेवान्डोस्कीले गोल गर्दै वायर्नलाई १-० को अग्रता दिलाए ।
योसँगै लेवान्डोस्की च्याम्पियन्स लिगको समूह चरणको लगातार आठ खेलमा गोल गर्ने तेस्रो खेलाडी बने ।

त्यसपछि खेलको ८९ औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै वायर्नलाई २-० को जित दिलाए ।
जितसँगै समूह 'बी' को वायर्नले ४ खेलमा अपराजित रहदै १२ अंक जोडेको छ । र, नकआउट चरणमा स्थान पक्का गरेको छ । १ अंक जोडेको ओलम्पिकाओस पुछारमा रहेको छ ।
यसै समूहको अर्को खेलमा टोटेनहमले एफके क्रेभेनालाई ४-० ले हराएको छ । टोटेनहमका लागि सन ह्युङ मिनले दुई गोल गरे । यस्तै जियोभानी लो सेल्सो र क्रिस्टियन एरिक्सनले १/१ गोल गरे ।

जितसँगै टोटेनहम ७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । टोटेनहमको नकआउट सम्भावना कायम रहेको छ । ३ अंक जोडेर क्रेभेना तेस्रो स्थानमा छ ।