काठमाडौं । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबलको दोस्रो चरणको छनोट खेलिरहेको नेपालले आज (बिहिबार) म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।
नेपाल र म्यानमारबीचको मैत्रीपूर्ण खेल मन्डला थिरी स्टेडियमा हुनेछ । खेल नेपाली समय अनुसार अपरान्ह ४ : १५ बजे सुरु हुनेछ ।
विश्वकप छनोट अन्तर्गत घरेलु मैदानमा हुने कुवेतसँगको खेल अघि नेपालले म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । म्यानमारसँगको मैत्रीपूर्ण खेललाई नेपालले कुवेतसँगको तयारीको रुपमा लिएको छ । कुवेतसँगको खेल नेपालको पहिलो घरेलु खेल समेत हो ।
नेपालले बलियो टिम म्यानमारसँग पहिलोपटक मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफा वरियतामा २० स्थान माथिको म्यानमारसँग नेपालले यस अघि एक पटक प्रतिस्पर्धा गरिसकेको छ । तर, मैत्रीपूर्णमा भने यो पहिलो भेट हो ।
नेपालले सन् २००८ मा भएको एएफसी च्यालेन्ज कपमा म्यानमारको सामना गरेको थियो । भारतको हैदराबादमा भएको खेलमा नेपाल म्यानमारसँग ३–० गोल अन्तरले पराजित भएको थियो ।
तर, मैत्रीपूर्णमा घरेलु टिमलाई पराजित गर्दै नेपाल च्यालेन्ज कपको हारको बदला लिने योजनामा हुनेछ । युवा खेलाडीको साथ पाएको नेपाल फिफा वरियतामा आफूभन्दा बलियो म्यानमारलाई उसैको मैदानमा हराउने दाउमा हुनेछ ।
म्यानमारविरुद्धको मैत्रीपूर्णमा नेपालका नियमित दुई सदस्य भने हुने छैन । कप्तान किरण कुमार लिम्बु भारतीय आईलिग मिनेर्वा पञ्जावको प्रिसिजनमा ब्यस्त रहँदा रोहित चन्द इन्डोनेशियाको आई लिगमा ब्यस्त छन् । तर, उनीहरुको अनुपस्थितिमा मिक्छेन तामाङ र सुभाष गुरुङले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका छन् ।
सन् २०२३ मा चीनमा आयोजना हुने एएफसी एसिया कप छनोटको रुपमा समेत हेरिएको विश्वकप छनोटमा नेपाल समूह बी मा रहेको छ । यस्तै म्यानमार समूह एफमा रहेको छ ।
समूह एफमा ३ खेल खेलिसक्दा कुनै अंक जोड्न नसकेको म्यानमारले नोभेम्बर १४ मा मन्डला थिरी रंगशालामा ताजिकिस्तानको सामना गर्दैछ ।
यता, छनोटको सबै अवे खेल खेलिसकेको नेपालले पहिलो घरेलु खेलमा कुवेतसँग मंसिर ३ गते दशरथ रंगशालामा खेल्नेछ । नेपालले ४ खेलमा ३ अंक जोडेको छ । नेपाल समूहको चौंथो स्थानमा छ ।
यस अघि कुवेतसँग अवे खेलमा नेपाल ७–० को भारी गोल अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा अन्जन विष्टको दुई गोल मद्दतमा नेपालले चाईनिज ताईपेलाई २–० गोल अन्तरले पराजित गर्याे ।
यस्तै तेस्रो खेलमा एसियाली पावर हाउस अष्ट्रेलियासँग ५–० ले पराजित हुँदा अन्तिम अवे खेलमा नेपाल जोर्डनसँग ३–० गोल अन्तरले पराजित भएको थियो ।