एजेन्सी । इन्ग्लिश क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलमा बराबरीमा रोकिएको छ ।
बुधबार राति भएको समूह चरणको खेलमा सिटी इटालियन क्लब एट्लान्टासँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
एट्लान्टाको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा सिटीले बराबरी खेलको हो । खेलको सातौं मिनेटमा रहिम स्ट्रर्लिङले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।
खेलको ४३ औं मिनेटमा सिटीले अग्रता दोब्बर बनाउने मौका पायो । तर, ग्राबियल जिससले पेनाल्टीमा गोल गर्न नसक्दा सिटी अग्रता दोब्बर बनाउनबाट चुकेको थियो ।

त्यसपछि खेलको ४९ औं मिनेटमा मारियो पासालिकले गोल गर्दै एट्लान्टालाई १-१ गोलको बराबरीमा फर्काए ।
यस्तै खेलको ८१ औं मिनेटमा गोलकिपर क्लाउडियो ब्राभोले रातो कार्ड पाउँदा सिटी १० खेलाडीमा समेटिएको थियो । ब्राभो मैदानबाट बाहिरिएपछि डिफेन्डर केली वाल्करले अन्तिम १० मिनेट गोलकिपरको भूमिका निर्वाह गरेका थिए ।

बराबरीसँगै समूह सी को सिटीले ४ खेलमा १० अंक जोडेको छ । र, अन्तिम १६ मा पुग्न सिटीले पर्खनु पर्ने भएको छ ।
एट्लान्टा १ अंक जोडेर पुछारमा रहेको छ ।
