एजेन्सी । युईएफए च्याम्पियन्स लिग फुटबलमा आज (बिहिबार) विभिन्न समूहको आठ खेल हुँदैछ ।
समूह चरण अन्तर्गत बिहिबार रियल मड्रिड, म्यानचेस्टर सिटी, वायर्न म्युनिख, युभेन्ट्स, पेरिस सेन्ट जर्मेन (पीएसजी), टोटेनहम लगायतका ठुला क्लबले प्रतिस्पर्धा गर्ने छन् ।
च्याम्पियन्स लिगमा सर्वाधिक सफल क्लब रियलले घरेलु मैदानमा गलातासारेसँग प्रतिस्पर्धा गर्नेछ । खेल नेपाली समय अनुसार राति १:४५ मा सुरु हुनेछ ।
घरेलु मैदानमा प्रतिस्पर्धाका लागि मैदान उत्रदा स्पेनिस क्लब रियल सहज जितको खोजीमा हुनेछ ।
समूह 'ए' को दोस्रो स्थानमा रहेको रियल जित निकाल्दै अन्तिम १६ मा पुग्ने सम्भावना कायम राख्न चाहन्छ ।
रियलले ३ खेलमा ४ अंक जोडेको छ । रियल जित निकाल्दै शीर्ष स्थानको फ्रेन्च क्लब पीएसजीसँग अंक दुरी घटाउन चाहन्छ । त्यसैले घरेलु मैदानमा जित निकाल्न रियललाई दबाब हुनेछ । ३ खेलमा १ अंक जोडेको गलातासारे पुछारमा रहेको छ ।
यसै समूहको अर्को खेलमा पीएसजीले क्लब ब्रुगसँग खेल्नेछ । घरेलु मैदानमा पीएसजी पनि सहज जित निकाल्दै शीर्ष स्थान कायम राख्न चाहन्छ ।
तीन खेलमा अपराजित पीएसजी ९ अंक जोडेर शीर्ष स्थानमा छ । २ अंक जोडेको ब्रुग तेस्रो स्थानमा रहेको छ ।
इन्ग्लिश क्लब सिटीले एट्लान्टासँग उसैको मैदानमा खेल्नेछ । समूह 'सी' मा अपराजित सिटी सहज जित निकाल्दै शीर्ष स्थान यथावत राख्न चाहन्छ ।
सिटीले ३ खेलमा ९ अंक जोडेको छ । अंकबिहीन एट्लान्टा पुछारमा रहेको छ । यसै समूहको अर्को खेलमा डाइनामो जाग्रेब र शाक्तर डोनेस्क्टसँग खेल्नेछ ।
इटालियन क्लब युभेन्ट्सले लोकमोटिभ मस्कोसँग उसैको मैदानमा खेल्नेछ । युभेन्ट्स जित निकाल्दै अन्तिम १६ को सम्भावना बलियो बनाउन चाहन्छ ।
समूह 'डी' को युभेन्ट्सले ३ खेलमा ७ अंक जोडेको छ । र, समूहको दोस्रो स्थानमा छ ।
मस्कोविरुद्ध मैदान उत्रदा युभेन्ट्सलाई शीर्ष स्थानमा उक्लन दबाब हुनेछ । मस्को ३ अंक जोडेर तेस्रो स्थानमा छ ।
यसै समूहको अर्को खेलमा एट्लेटिको मड्रिडले वायर लिभरकुसेनसँग खेल्नेछ । ७ अंक जोडेको एट्लेटिको शीर्ष स्थानमा छ ।
समूह 'बी' को खेलमा वायर्न म्युनिखले ओलम्पिकाओससँग खेल्दैछ । तीन खेलमा अपराजित वायर्न चौंथो जितको खोजीमा रहेको छ ।
वायर्नले ३ खेलमा ९ अंक जोडेको छ । १ अंक जोडेको ओलम्पिकाओस पुछारमा छ ।
यसै समूहको अर्को खेलमा टोटेनहमले एफके क्रेभिनासँग खेल्नेछ । ४ अंक जोडेको टोटेनहम दोस्रो स्थानमा छ ।