एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बोरुसिया डर्टमण्डले पुनरागमन जित निकालेको छ ।
समूह चरण अन्तर्गत बुधबार राति डर्टमण्डले इटालियन क्लब इन्टर मिलानलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा २-० गोलले पछि परेको स्थिति उल्टाएर डर्टमण्डले उत्कृष्ट जित निकालेको हो ।
खेलको पाँचौं मिनेटमा लाउटारो मार्टिनेजले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । ४० औं मिनेटमा माटियास भेसिनोले गोल गर्दै इन्टरलाई २-० को अग्रता दिलाए ।

तर, दोस्रो हाफमा डर्टमण्डले उत्कृष्ट पुनरागमन गर्यो । खेलको ५१ औं मिनेटमा अर्चार्फ हाकिमीले गोल गर्दै डर्टमण्डलाई खेलमा फर्काउने कोशिस गरे । ६४ औं मिनेटमा जुलियन ब्रान्टले गोल गर्दा डर्टमण्डले खेल २-२ को बराबरीमा ल्याउन सक्यो ।
त्यसपछि खेलको ७७ औं मिनेटमा हाकिमीले व्यक्तिगत दोस्रो गोल गर्दै डर्टमण्डलाई ३-२ को उत्कृष्ट जित दिलाए ।

जितसँगै समूह 'एफ' को डर्टमण्ड समूहको दोस्रो स्थानमा उक्लिएको छ । डर्टमण्डले ४ खेलमा ७ अंक जोडेको छ । ४ अंक जोडेको इन्टर तेस्रो स्थानमा छ । यस समूहमा ८ अंक जोडेर बार्सिलोना शीर्ष स्थानमा छ ।